इन्धनसँग स्वाधिनता बन्धक राखिन्न : उपप्रधानमन्त्री थापा
- ‘भारतको अहितमा काम गरेका छैनौ, किन नाकावन्दी ?’
- , हेटौडा
कार्तिक २९, २०७२- उपप्रधानमन्त्री कमल थापाले इन्धनसँग स्वाभिमान र स्वाधिनता बन्धक नराख्ने टिप्पणी गरेका छन् ।
‘अहिले सरकारलाई जनताले अभूतपूर्व ढंगले समर्थन र विश्वास गरेका छन’, उनले भने, ‘जनताको समर्थन र विश्वासका कारण सरकार मुलुकको स्वाधिनता र स्वाभिमानलाई इन्धनमा बन्धक राख्दैन ।’
उनले भारतले बिनाकारण नाकावन्दी गरेर नेपाली जनतालाई कष्टकर जीवनयापन गर्न वाध्य वनाएको आरोप लगाए ।
गृहनगर हेटौडामा आइतवार आइपुगेका थापाले भने,‘संविधान जारी गरेर नेपालले भारतको अहित र शान्ति सुरक्षामा खलल पार्ने काम गरेको छैन तर पनि किन अवरोध ?’ भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले भारतले दिएको पीडा नेपाली जनताले कहिल्यै नबिर्सने टिप्पणी गरे ।
‘छिमेकी देशको आन्तरिक समस्यालाई बहाना वनाएर आपूर्ति व्यवस्थामा जुन किसिमको अवरोध पुर्याउने काम भएको छ यसले नेपाल–भारतको संदियौदेखिको सामाजिक, आर्थिक र सांस्कृतिक सम्वन्धमाथि पनि प्रश्न खडा गरेको छ’, उनले भने ।
थापाले इन्धनको निर्भरता एकै देशमा रहने व्यवस्थालाई सधैको निम्ति अन्त्य गर्ने बताए ।
‘यो संकट नेपालीको निम्ति वरदान सावित गर्न सरकार क्रियाशिल रहेको’ बताउदैं थापाले भने, ‘नाकावन्दीले नयाँ ढंगवाट मुलुकको विकास गर्ने चेतना खुलेको छ ।’
उनले मधेस आन्दोलन नेपालको आन्तरिक मामला भन्दै समाधानको लागि सरकार क्रियाशिल रहेको बताए ।
‘संविधान बारे केही वुद्धिजिवीहरुले भ्रम फैलाउने काम गरेका छन’, थापाले भने, ‘यो जत्तिको समावेशी र समानुपातिक संविधान अरु मुलुकमा छैन ।’
प्रकाशित: कार्तिक २९, २०७२

Post a Comment