इन्धन अभावका कारण बिरामीको अस्पतालमै बेहाल
दाउरा बालेर बिरामीका लागि खाना:-
इन्धन अभावका कारण अस्पतालका क्यान्टिनमा ग्यास र इस्टोभको सट्टा दाउरा प्रयोग हुन थालेको छ । वीर, शिक्षण, गंगालाल, पाटन, निजामती कर्मचारी अस्पतालमा बिरामीका लागि खाना पकाउन दाउराको प्रयोग हुन थालेको छ । ‘ग्यास र तेल नभएपछि दाउरा बालेर बिरामीलाई खाना खुवाइँदै छ, अहिले लोडसेडिङ कम भएकाले उपचार पद्धतिमा समस्या छैन, लोडसेडिङ बढे जेनेटर चलाउन अर्काे समस्या पर्न सक्छ,’ गंगालालका निर्देशक डा. ज्योतेन्द्र शर्माले भने । - See more at: http://www.enayapatrika.com/2015/10/35009#sthash.A1xhFJ4R.dpuf
नाकामै रोकियो औषधि :-
नेपाल ल्याउन लागिएका औषधिका दर्जनौँ गाडी नाकाबन्दीका कारण रक्सौलमा रोकिएका छन् । ती औषधिको गुणस्तरबारे स्वास्थ्य सेवा विभागले चिन्ता जनाएको छ । ‘हुन त वातानुकूल बनाएर नै औषधि ल्याइने गरिन्छ, तर पनि धेरै दिन त्यसरी सडकमा रहँदा औषधिको गुणस्तर ह्रास हुनसक्छ,’ विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले भने । - See more at: http://www.enayapatrika.com/2015/10/35009#sthash.A1xhFJ4R.dpuf
रामप्रसाद न्यौपाने/नयाँ पत्रिका
काठमाडौं, १३ कात्तिक
इन्धन अभावमा अस्पतालका चुलोहरूमा ग्यास तथा स्टोभको सट्टा दाउराको प्रयोग हुन थालेको छ । भारतले करिब डेढ महिनादेखि गरेको नाकाबन्दीले ग्यास र तेल नभएपछि अस्पतालले विकल्पका रूपमा दाउराको प्रयोग गरेका हुन् । राजधानीका ठूला सरकारी अस्पताल वीर, त्रिवि शिक्षण, गंगालाल, निजामती कर्मचारी अस्पताल, पाटनलगायतका अस्पतालले भर्ना भएका बिरामीका लागि खाना पकाउन दाउराको प्रयोग गर्न थालेको हो । ‘ग्यास र तेल अभाव छ । विकल्प दाउरा नै हुने भयो । हाम्रो अस्पतालको क्यान्टिनमा खाना पकाउन दाउराको प्रयोग भएको छ,’ वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले नयाँ पत्रिकासँग भने । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा. ज्योतेन्द्र शर्माले पनि नाकाबन्दीको असर अहिले अस्पतालको क्यान्टिनबाट सुरु भएको बताए । ‘ग्यास र तेल नभएपछि दाउरा बालेर बिरामीलाई खाना खुवाइएको छ । अहिले लोडसेडिङ कम भएकाले उपचार पद्धतिमा समस्या छैन । लोडसेडिङ भयो भने जेनेरेटर चलाउन अर्को समस्या पर्न सक्छ,’ उनले नयाँ पत्रिकासँग भने । शर्माले उपत्यकाका सबैजसो अस्पतालको समस्या आफूहरूको जस्तै रहेको बताए । नाकाबन्दीले अस्पतालमा चुलोको समस्या मात्रै होइन, औषधि र औषधिजन्य उपकरणमा समेत असर पारेको छ । बिरामीका लागि चाहिने औषधि/उपचार सामग्री सकिँदै गएका छन् । अस्पतालमा बिरामीको संख्यासमेत उल्लेख्य रूपमा घटेको छ । अस्पतालहरूले अहिलेसम्म मौज्दात औषधि र सर्जिकल उपकरणहरूको प्रयोग गरेको बताएका छन् । यही अवस्था धेरै दिन रहे ठूलो समस्या पर्नसक्ने चिकित्सकहरूको भनाइ छ । वीर अस्पतालका निर्देशक डा. पण्डितले नाकाबन्दीले चिकित्सक, नर्स तथा कर्मचारीका लागि आउजाउ गर्न समस्या भएको बताए । उनले औषधि, अक्सिजन र सर्जिकल सामग्री अभाव नभए पनि कमी हँुदै गएको दाबी गरे । आफ्नो अस्पतालमा दैनिक आउने बिरामीको संख्या एकतिहाइमा झरेको उनले बताए । सो अस्पतालमा दैनिक एक हजार पाँच सय बिरामी आउने गर्छन् । उता, बाँसबारीस्थित गंगालाल अस्पतालमा पनि औषधि उपकरणको अभाव देखिन थालेको छ । अस्पतालका निर्देशक डा. ज्योतेन्द्र शर्माले औषधि र उपकरण कामचलाउ भए पनि पर्याप्त नभएको बताए । उनले डिस्पोजेबल सामग्री कमी देखिन थालेको जानकारी दिए । गोदाममै अड्कियो औषधि निजी औषधि उत्पादकहरूले देशका लागि आवश्यक औषधि अभाव नभएको दाबी गरेको छ । यद्यपि, उसले नाकाबन्दीबाट इन्धन अभाव हुँदा एक ठाउँबाट अर्को ठाउँमा औषधि पुर्याउन नसकेको बताएको छ । नेपाल औषधि उत्पादक संघका प्रथम उपाध्यक्ष दीपक दाहालले नाकाबन्दीले औषधि अभाव नभएको दाबी गरे । उनले उत्पादित औषधि भने गोदामै थन्किँदा कतिपय स्थानमा औषधि अभाव हुन पुगेको बताए । ‘दुई महिनालाई धान्ने मौज्दात हामीसँग छ । नभएका औषधिहरू हामी तेस्रो मुलुकबाट पनि खरिद गर्न सक्छौँ । औषधिमा भारतसँग निर्भर हुनुपर्दैन, तर इन्धन अभावले उत्पादनमा कमी भएको छ,’ उनले नयाँ पत्रिकासँग भने । नेपालमा भारतबाट आउने औषधिका कच्चा पदार्थ भारतले चीनबाट ल्याउने गरेको भन्दै नेपाली उद्योगीले सीधै चीनबाटै ती पदार्थ ल्याउने प्रयास भइरहेको बताएका छन् । ‘कच्चा पदार्थका लागि हामी केही दिनमै चीन जाँदै छौँ । कुरो मिलेमा हामी सीधै चीनबाट ल्याउनेछौँ । कच्चा पदार्थका लागि भारतको विकल्प खोज्ने कुरा छ,’ दाहालले भने । उनले देशमा रहेको ५१ वटा औषधि उद्योगले औषधिको ८० प्रतिशत भार थेग्न सक्ने दाबी गरे । केही रोगका बाहेक अधिकांश रोगका औषधि नेपाली उद्योगले नै उत्पादन गरेको उनले बताए । यता, औषधिको आपूर्ति गर्ने सरकारी निकाय स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले पनि इन्धन अभावमा औषधिको वितरण हुन नसकेको जनाएको छ । ‘अहिल्यै औषधिको अभाव भएको छैन । गोदाममा छ, तर जिल्ला तथा क्षेत्रहरूमा पठाउन ढुवानीको समस्या छ,’ महाशाखाका निर्देशक डा. भीम टिकंरीले भने । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले मध्यतराईका आठ जिल्लाबाहेक अन्य जिल्लामा औषधिजन्य पदार्थ नियमित रूपमा वितरण भएको बताए । उनले आन्दोलन अति प्रभावित आठ जिल्लामा भने समस्या भएको संकेत गरे । स्थानीय स्वास्थ्यकर्मीले वैकल्पिक माध्यमबाट अत्यावश्यक औषधि तथा खोपहरू पुर्याइरहेको उनले दाबी गरे । नाकामा रोकिएको औषधिको गुणस्तर के होला ? स्वास्थ्य सेवा विभागले नेपाल ल्याउन औषधि लोड भएका दर्जनौँ सवारीसाधन हप्तौँदेखि सीमानाका रक्सौलमा रोकिएको भन्दै ती औषधिको गुणस्तरप्रति चिन्ता जनाएको छ । विभागका महानिर्देशक डा. उप्रेतीले हप्तौँसम्म घामपानी, चिसो–तातोका बीच रहेका गाडीभित्रका कतिपय औषधिको गुणस्तर खस्किन सक्नेसमेत संकेत गरे । ‘हुन त वातानुकूल बनाएरै ल्याइन्छ, तर धेरै दिन त्यसरी सडकमा रहँदा हामीले खोजेजस्तो गुणस्तर नहुन पनि सक्छ,’ उनले नयाँ पत्रिकासँग भने । मधेसमा भिटामिन ‘ए’ खुवाउन समस्या मधेसी मोर्चाको आन्दोलनले मध्यतराईका आठ जिल्लामा भिटामिन ‘ए’ खुवाउने कार्यक्रम प्रभावित हुनसक्ने देखिएको छ । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आगामी १६ र १७ कात्तिकका दिन पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ औषधि खुवाउँदै छ । ‘अरू ठाउँमा हामीले पुर्याइसक्यौँ । आन्दोलन अति प्रभावित मध्यतराईका आठ जिल्लामा पनि पुर्याउने कोसिस गर्दै छौँ । त्यसका लागि विराटनगर र हेटौँडामा रहेको मेडिकल स्टोरसम्म औषधि पुर्याइसकेका छौँ । त्यहाँबाट जिल्लामा पठाउने संयन्त्र खोज्दै छौँ,’ स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले भने । - See more at: http://www.enayapatrika.com/2015/10/35009#sthash.A1xhFJ4R.dpuf

Post a Comment