पोल्याण्डका माईकलले चुमे प्याराग्लाईडिङ प्रि.वल्र्ड कपको उपाधि
पोखरा, २२ फागुन ।
पोखरामा शुक्रबार सम्पन्न भएको प्याराग्लाइडिङ खेलकोे प्रि–वल्र्ड कप २०१५ का उपाधि पोल्याण्डका माईकल ग्रिल्याकले जितेका छन् । प्रतियोगितामा उनले ३६ देशका एकसय पचास पाईलटलाई पछि पार्दै नेपालमा पहिलोपटक आयोजना भएको उक्त प्रतियोगिताको उपाधि चुमेका हुन् । तीन दिनको टास्कको आधारमा उनले दुई हजार तीनसय अठार अंक जोड्दै उपाधि सहित पचास हजार नगद हात पार्न सफल भए ।
त्यसैगरी प्रतियोगितामा बेलायतका ईद्रिस व्रिच दोस्रो भए । उनले दुईहजार दुईसय ३२ अंक ल्याउँदै दोश्रो भएका हुन् । उनले पुरस्कार स्वरुप चालिस हजार प्राप्त गरे । प्रतियोगितामा दुईहजार एकसय अठसठ्ठी अंक जोड्दै फ्रान्सका लुकास ब्रिन्र्डेन तेस्रो भए । उनले नगद ३० हजार पुरस्कार पाए । मंगलबारको आधा दिन र बुधबार, बिहीबार र शुक्रबारको आधा दिन टास्क गरी पुरा तीन दिनको टास्कको आधारमा जिपिएस प्रकृयाबाट उनीहरु विजेता भएका हुन् । त्यसैगरी खुल्ला महिला तर्फको प्रतिस्पर्धामा जापानकी ईमि हिराकावा प्रथम भएकी छन् । उनले एक हजार सातसय आठ अंक जोड्दै उपाधि सहित तीसहजार प्राप्त गर्न सफल भईन् ।
त्यसैगरी जर्मनीकी ईजाबेला म्यासेन्जर दोस्रो भईन् भने रशियाकी अनाका जाकोभा तेस्रो भईन् । त्यसैगरी ओभरल नेपाली तर्फ विमल अधिकारी प्रथम भएका छन् । उनले एकहजार सातसय ५९ अंक ल्याउँदै उपाधि सहित तीस हजार प्राप्त गर्न सफल भए । एकहजार पाँचसय ६९ अंक जोडेका विशाल थापा दोस्रो हुँदै बीसहजार हात पार्न सफल भए । विजय दाहाल तेस्रो भए भने अनिश भट्टराई चौथो र आशिष भट्टराई पाँचौ भए ।
त्यसैगरी नेपाली लिग च्याम्पीयन विमल अधिकारी भए । योगेश भट्टराई दोस्रो भने सुशिल गुरुङ तेस्रो भए । समुह तर्फ पोखराको फन्ट्रीयर्स प्रथम भयो भने एट्रिव्युट दोस्रो र फ्लाईजीन तेश्रो भए । त्यसैगरी स्पोटर्स क्लासमा युक्रेनका स्टेफेन प्रथम, वेलायतका स्ट्यान दोस्रो र रसियाका माक्सीङ तेस्रो भए ।
विजयी खेलाडीहरुलाई सभासद शारदा पौडेल, पोखरा पर्यटन परिषदका संस्थापक अध्यक्ष अशोक पालिखे, पर्यटन व्यावसायी वासु त्रिपाठी, अग्नी कणेल, संयोजक सोवित वानिया, नाका अध्यक्ष योगेस भट्टराई र महासचिव वसन्तराज दवाडी लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको औपचारीक समापनको अवसरमा बोल्दै उपप्रधानतथा गृहमन्त्री बामदेव गौतमले प्याराग्लाईडिङ खेलको विकासका लागि सहयोग गर्ने बताए । गृहमन्त्री गौतमले पोखराका पर्यटन व्यवसायीहरुलाई दोसल्ला सहित पूmलमालाले सम्मान गर्नुभएको थियो । प्रतियोगितामा नेपाल सहित ३६ राष्ट्रका एक सय ५० प्याराग्लाईडीङका पाईलटहरु सहभागी भएको संयोजक सोवित बानियाँले बताए ।
प्रतियोगितामा एक नेपाली महिला सुनिता थापाले सहभागिता जनाएकी थिईन् । प्रतियोगितामा १८ जना नेपाली पाईलट सहभागी भएको नाका महासचिव वसन्तराज दवाडीले जानकारी दिए । प्रतियोगिहरुले सराङकोटबाट उडान भरी नौडाँडा, ल्वाङघलेल, घाचोक, पन्चासे, स्याङजाको भालुपहाड, पुनः अर्मलाहँुदै फेवातालको केन्द्र विन्दु बनाएर अवतरण गरेका थिए ।

Post a Comment