नाकाबन्दीले च्याउ व्यवसाय संकटमा
मंसिर २१, २०७२- मधेस आन्दोलन र भारतको नाकाबन्दीले इन्धन अभावपछि काठमाडौं उपत्यकामा च्याउ व्यवसाय संकटमा परेको छ। अधिकांश च्याउ व्यवसायीहरू व्यवसाय नै छाड्ने स्थितिमा पुगेका छन्।
तराईबाट पराल र भारतबाट रासायनिक मल, विषादीलगायतका आवश्यक सामग्री ल्याउन नसक्दा च्याउ खेती समस्यामा परेको गुनासो कृषकहरूले गरेका छन्। उनीहरू भन्छन्, ‘सामग्री अभाव त छँदैछ, उत्पादित च्याउ बजारसम्म पुर्याउन नसक्दा झनै संकटमा परेका छौं।’
च्याउमा लगानी गरेको लाखौं रुपैयाँ डुब्ने स्थितिमा पुगेको वज्रवाराही नगरपालिका चापागाउँका च्याउ व्यवसायी चित्रराज तिमिल्सेनाले बताए। ‘च्याउको मध्य सिजनमा नाकाबन्दी हुँदा उत्पादित च्याउ बजारसम्म पुर्याउन समस्या छ,’ उनले भने। ललितपुरमा करिब ५ हजार परिवार च्याउ खेती गर्दै आएका छन्। वार्षिक ६०/७० हजार किलो च्याउ उत्पादन हुँदै आएकोमा हाल ३०/४० हजार पनि नहुने किसानहरू बताउँछन्। दैनिक झन्डै ७० हजार रुपैयाँ घाटा बेहोर्नुपरेको उनीहरूले बताए।
झरुवारासीमा करिब ५ रोपनीमा च्याउ खेती गर्दै आएका चापागाउँ बस्ने दीपकप्रसाद सापकोटाले गत वर्ष डेढ/दुई लाख रुपैयाँ आम्दानी गरेकोमा यो वर्ष ५०/६० हजारको व्यापार पनि नभएको बताए। ‘गत वर्ष दैनिक सय किलोसम्म च्याउ उत्पादन गरी बिक्री गरेको थिएँ’ उनले भने, ‘यसपालि त बजारसम्म पुर्याउन नसक्दा कुहिने अवस्थामा पुगेको छ।’
नाकाबन्दीले दैनिक छाक टार्नैसमेत समस्या भएको उनले बताए। ‘तराईबाट भूस ल्याउन सकिएको छैन,’ सापकोटाले भने, ‘यहाँको परालले ५ प्रतिशत च्याउ मात्र उत्पादन गर्न पुग्छ।’ उनले भाडामा जग्गा लिएर च्याउ खेती गर्दै आएका छन्।
एक रोपनीको वार्षिक १४ हजार रुपैयाँ भाडा तिर्ने गरेको उनले जनाए। ‘च्याउ उत्पादन गर्न नसक्दा भाडासमेत तिर्न मुस्किल छ,’ उनले भने, ‘पोर तराईबाट एक एलपी ट्रकको ३६ हजार रुपैयाँ तिरेर ल्याएकोमा अहिले ६५ हजार रुपैयाँसम्म तिर्दा पनि झिकाउन गाह्रो छ।’
उनले गोब्रे च्याउ उत्पादनका लागि चाहिने कम्पोस्ट मल तयार गर्ने रासायनीय मलको अभाव हुँदा थप मर्कामा परेको बताए। नाकाबन्दीले ग्यास अभावका कारण च्याउको बीउ उत्पादनमा समस्या देखिएको जिल्ला कृषि कार्यालयका सूचना अधिकारी हरिप्रसाद पण्डितले बताए।
‘प्रतिपोका ३० रुपैयाँमा पाउने बीउ ३५ रुपैयाँसम्म परेको छ ,’ उनले भने, ‘च्याउको बल बनाउन प्रयोग हुने एलडी प्लास्टिकसमेत बजारमा अभाव छ।’
उनका अनुसार प्रतिकिलो २ सय ६० रुपैयाँ पर्ने उक्त प्लास्टिक अहिले किसानले २ सय ८५ सम्म तिरे पनि पाउन समस्या छ। ‘छाप्रो बनाउन प्रतिगोटा १ सय ८० रुपैयाँमा पाइने बाँस कृषकले २ सय ८० सम्म तिरेका छन्’ उनले भने, ‘किसानले पहिले सातदोबाटोबाट चापागाउँसम्म आउन १ हजार रुपैयाँ भाडा लाग्नेमा अहिले २ हजारसम्म तिर्छन्।’
उनले च्याउमा लाग्ने रोग नियन्त्रणका लागि हालिने निम, फर्मालिन, बेबस्तिनजस्ता विषादी बजारमा पाउनै छाडेको बताए। ‘विषादी नहुँदा च्याउमा भुसुना लाग्ने, परालको आयु छोट्टिनेलगायतका समस्या छन्,’ उनले भने, ‘बजारमा च्याउ खरिद गर्ने उपभोक्ता कम हँुदा व्यवसायी थप मर्कामा परेका छन्।’
च्याउ उत्पादनका लागि मल, पराल लगायत अत्यआवश्यक बस्तु सहज तरिकाले उपलब्ध गराउन सरकारसमक्ष च्याउ व्यावसायीहरूले माग गरेका छन्।
प्रकाशित: मंसिर २१, २०७२

Post a Comment