Header Ads

युरोपमा नेपाली फन्को

मंसिर १७, २०७२- समयको अनुकूलता मिल्यो भने मानिस सपना बुन्न सुरु गर्छ, जब कि वास्तविकता विपरीत हुन्छ भन्ने थाहै हुँदैन  । पैसाको पछाडि दौडने युवाको यही कहानीलाई लिएर तयार पारिएको नेपाली चलचित्र ‘फन्को’ ले यात्रा दौरानको समय र घटना अनुसार मानिसको चरित्र पनि बदलिन्छ भन्ने मर्मलाई समातेर दर्शक रिझाउने प्रयास गरेको छ  ।
माघ १ मा देशव्यापी प्रदर्शन थाल्ने फिल्मले आफ्नो रेड कार्पेट प्रिमियर हालै बेल्जियमबाट सुरु गरेको छ  । सुवर्ण थापाले आफ्नै पटकथालाई निर्देशन गरेको यस फिल्ममा जिपको मुख्य भूमिका रहेको छ भने ड्राइभरको रूपमा सौगात मल्लले अभिनय गरेका छन्  ।
उनलाई सघाएकी छन्, केकी अधिकारीले श्रीमतीको रूपमा  । फिल्ममा राजनीतिक नेताको पछि लाग्दालाग्दा यता न उता भएको युवाको कथा बोकेर देखा परेका छन् पेसेवर गुन्डाको रूपमा दयाहाङ राई  । उनको साथ देखा परेकी छन् प्रियंका कार्की  । फिल्मले सामयिक राजनीतिक परिवेशलाई उजागर गरेको छ  ।
दुई साताअघि मात्रै फस्टलुक सार्वजनिक गरेको फिल्मको ‘म त लोकल ब्युटी’ बोलको गीतले चर्चा पाएको छ  । गायिका इन्दिरा जोशीको स्वर रहेको गीतमा गायिका जोशी स्वयंले नायिका प्रियंकासँग स्क्रिन सेयर गर्दै नाचेकी छिन  । पृथ्वी राजमार्गअन्तर्गत पर्ने पोखरा र दमौली क्षेत्रमा फिल्मको छायांकन गरिएको छ  । फिल्मको संवादमा प्रयोग गरिएका आञ्चलिक शब्दले दर्शकलाई हँसाउँछ भने रोमान्सको संवाद पनि उस्तै छ  । फिल्ममा कमेडी, सस्पेन्स र हास्यलाई रोचक ढंगले प्रस्तुत गरिएको छ  ।
बेल्जियमका नेपाली सहदेव गौतम, पदम गुरुङ र नरेन्द्र महर्जनको लगानीमा निर्माण भएको फिल्म ‘फन्को’ ले नेदरल्यान्ड, फ्रान्स, पोर्चुगल, स्पेन, डेनमार्क, स्पेनलगायत अन्य युरोपेली मुलुकहरूमा पनि प्रदर्शन गर्ने भएको छ  ।
सोमबार बेल्जियममा भएको प्रदर्शनमा नेपाल सरकारका पूर्वजलस्रोत राज्यमन्त्री महालक्ष्मी डिना उपाध्याय, एनआरएनए सचिव अर्जुनकुमार श्रेष्ठ, एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम लगायत उपस्थित थिए  ।
नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले बेल्जियमबाट सुरु गरिएको प्रस्तुतकर्ता पदम गुरुङले बताए  ।
प्रकाशित: मंसिर १७, २०७२




No comments

Powered by Blogger.