Header Ads

शान्तिवार्ता शुरु भएसँगै यमनमा युद्धविराम

स्वीट्जर्ल्याण्डमा संयुक्त राष्ट्रसंघ प्रायोजित शान्ति वार्ता शुरु भएसंगै यमनमा युद्धविराम लागू भएको संयुक्त राष्ट्रसंघले बताएको छ।
यमनमा ९ महिना देखि जारी द्वन्दलाई अन्त्य गर्ने उद्देश्यले शुरु गरिएको सो वार्तामा साउदी सरकारको समर्थन प्राप्त यमनको टोली र हुथी विद्रोही समूहहरु उपस्थित छन्।
राष्ट्रसंघले जिनीभामा जारी गरेको एक वक्तव्यमा उक्त युद्धविरामलाई शान्तिको तर्फको महत्वपूर्ण कदम भनिएको छ।

महत्वकांक्षी उद्देश्य

सात दिने युद्धविरामसंगै यमनमा युद्धरत पक्षहरुले स्वीटजर्ल्याण्डमा संयुक्त राष्ट्रसंघ समर्थित शान्ति वार्ता थालेका छन्।
राष्ट्रसंघले वार्ताका दुबै पक्षलाई शान्ति स्थापना गर्न साहस चाहिने बताएको छ।
वार्ताको उद्देश्य, अस्थायी युद्धविराम पछि स्थायी युद्धविराम, सशस्त्र समूहहरु र भारी हातहतियारको फिर्ती, सहायता संस्थाहरुलाई अहिलेको भन्दा राम्रो पहुँच र बन्दीहरुको आदानप्रदान जस्ता छन्।
यी सबै विषयमा सहमति एक/दुई दिनमा हुन सक्दैन, र संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञहरुले वार्ताले चाहिने समय लिने बताएका छन्।
सहमति हासिल गर्न संयुक्त राष्ट्रसंघले व्यक्त गरेको चासो कतिको गहन छ भनेर देखाउने यो एउटा संकेत हो।
यमनमा देशका ८० प्रतिशत जनता मानवीय सहायताको आवश्यकतामा रहेका छन् र यमनले शान्तिको लागि धेरै समय पर्खन सक्दैन।

अनुमान

यमनको सरकार, हुथी विद्रोही र उनीहरुका समर्थकबीचको वार्ताले एक महिनादेखि जारी संकटको दिगो समाधान खोज्ने उद्देश्य राखेको संयुक्त राष्ट्रसंघले बताएको छ।
गत मार्चदेखि साउदी अरेबिया नेतृत्वको गठबन्धनले विद्रोहीहरुमाथि सैनिक कारवाही गरेपछि करीब ६००० जनाको मृत्यु भईसकेको छ। मृतक मध्ये आधाजसो गैरसैनिक थिए।
राष्ट्रपति अबेद रबुह मन्सुर हादीका प्रतिनिधि, हुथी विद्रोही र पुर्व राष्ट्रपति अलि अब्दुल्लाह सलेको पार्टिका प्रतिनिधीबीच भईरहेको वार्ता एक हप्ता सम्म जारी रहने अनुमान गरिएको छ।
साउदी अरेबियाले नेतृत्व गरेको गठबन्धनले भने वार्तामा भाग लिएको छैन र युद्धविराम भंग भएमा त्यसलाई सम्बोधन गर्ने आफ्नो हक भएको बताएको छ।
यो भन्दा अगाडि जुन महिनामा जिनीभामा भएको वार्ता कुनै सहमति बिना टुंगिएको थियो।

No comments

Powered by Blogger.