अत्यावश्यक औषधि किन्न द्रूत प्रक्रिया शुरु
नाकामा भइरहेको अवरोधका कारण देशभर देखिएको औषधि अभावपूर्ति गर्न स्वास्थ्य मन्त्रालयले फास्ट ट्रयाक अर्थात द्रूत प्रक्रियाबाट किन्न बोलपत्र आह्वान गरेको छ।
अति आवश्यक ७० भन्दा धेरै किसिमका औषधि किन्न हिजो सार्वजनिक आह्वान गरेको मन्त्रालयका अधिकारीले बताएका छन्।
यसअघि मन्त्रालयले मन्त्रिपरिषदसंग दुई हप्ता अगाडि नै छरितो गतिमा औषधि खरिद गर्न स्वीकृति मागेको थियो।
समय
मन्त्रिपरिषदले खरिद नियमावली अनुसार किन्न निर्देशन दिएपछि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा गठित कमिटीले हिजो प्रकृया थालेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठका अनुसार नियमित प्रक्रिया पुरा गर्न मात्रै ७५ दिन लाग्छ।
उनी भन्छन्, "फास्ट ट्रयाकबाट १५-२० दिनभित्रै औषधि ल्याउने सकिने विश्वासका साथ प्रक्रिया थालेका हौं।"
स्वास्थ्य मन्त्रालयले खरिद गर्न लागेको औषधिमा अहिले देशभरका सरकारी अस्पतालहरुमा नि:शुल्क वितरण गरिंदै आएका ७० भन्दा बढी प्रकारका औषधिलाई प्राथमिकता दिइएको जनाइएको छ।
गुनासो
त्यसबाहेक जीवन रक्षक औषधिहरु पनि रहेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ।
महाशाखाका निर्देशक भीमसिंह टिङ्करीले भने, "एउटै औषधि विभिन्न प्रकार हुन्छन्, सबै गरि करिव ९० किसिमका औषधि किन्न लागेका छौं।"
सीमा-नाकामा भएका अवरोधका कारण औषधि ढुवानी हुन नसकेपछि स्वास्थ्य मन्त्रालयले हवाई मार्गबाट पनि केही औषधि ल्याएको थियो।
त्यसबाहेक विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरुलाई आह्वान गरेपनि अधिकांशबाट सहयोग नपाएको गुनासो स्वास्थ्य मन्त्रालयको छ।

Post a Comment