बेसीशहरमा रातभर ग्यासका सिलिण्डर तानातान (फोटो)
मंसिर २३, २०७२- मंगलबार बेलुकी ६ बजेदेखि रित्तो ग्यासको सिलिण्डरसँगै सडकमा बसेका पूर्ण परियार बुधबार बिहानसम्म पनि काम्लो ओढेरै त्यही सिलिण्डरको साथमा थिए ।
बेसीशहरमा शेराको ग्यास विक्रीपसल अघिल्तिर धेरैले ग्यासको रित्तो सिलिण्डिरसँगै रात बिताए । मंगलबार बेलुकीदेखि बुधबार बिहानसम्म ग्यासका खाली सिलिण्डर लिएर उपभोक्ता दौडिरहेका थिए । मंगलबार बेलुकी ७ बजेदेखि लाइनमा बसेका रामबहादुर तामाङले आजको रात ग्याँसको सिलिण्डरसँगै बिताएको बताए ।
मंगलबार राति ग्यास आउने हल्ला चलेपछि उपभोक्ता बेसीशहर शेरा, साइबाबा र नारायणी ग्यासको विक्रेता अघिल्तिर लाइन लागेका थिए । रातभरि ग्यास कुर्दै बसेका उनीहरु लाइनमा अगाडी पर्न तँछाडमँछाड गरिरहेका थिए ।
शेरा ग्यासको विक्रेता कालीबहादुर गुरुङका अनुसार लाइन बस्ने विषयमा झगडा समेत भएको थियो । प्रहरीले रातभरि सुरक्षा दिएको थियो । आधा सिलिण्डरको साइबाबा ग्यास १ सय ९९ वटा बुधबार बिहान आइपुगेको विक्रेता न्यू आयुष स्टोर्सका संचालक शशी रेग्मीले बताए । नारायणी ग्यासका विक्रेता रामकुमार श्रेष्ठका अनुसार १ सय सिलिण्डर आउने भनिएपनि आइपुगेको छैन ।
प्रकाशित: मंसिर २३, २०७२

Post a Comment