देवकोटा मानिसका पक्षमा थिए
अन्तर्वार्ता
समकालीन नेपाली निबन्ध वा आख्यानमा सम्भवतः सबैभन्दा बढी ध्यान दिएर पढिने लेखकमा पर्छन् नारायण ढकाल । हिप्पिज्मदेखि राजनीतिसम्मको यात्रा उनका निबन्ध र आख्यानका कच्चा पदार्थ बन्छन्। नेपाली साहित्यका विविध पक्षबारे टिप्पणी र समीक्षा गर्न खप्पिस ढकालस“ग महाकवि लक्ष्मीप्रसाद देवकोटाको लेखनी र नेपाली साहित्यमा देवकोटाको प्रभावबारे दीपक सापकोटाले गरेको कुराकानी:
महाकवि लक्ष्मीप्रसाद देवकोटाका रचनासँग तपाईंको परिचय कसरी भयो?
मैले देवकोटालाई जुन बेला रचनाबाट चिने“, त्यस बेला उनी महाकवि भइसकेका थिए। नेपाली जनजीवनमा निकै स्थापित व्यक्तित्व थिए।
स्कुलमा हामीले 'यात्री' र 'मार्ग' शीर्षकका उनका दुई कविता पढ्नुपर्थ्यो। 'मार्ग'मा मानिसको जीवनको महान् उद्देश्यको कुरा उठाइएको छ । त्यस कविताको ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने वाक्यले भयंकर प्रभाव पार्यो।
'यात्री'मा 'मानिस नै ईश्वर हो' भनेर मानवतावादी कुरा उठाइएको छ। देवकोटालाई ठीक ढंगले चाहिँ किशोर भएपछि बुझेको हुँ। जनमानसमा उनको प्रभाव कति थियो भने हरेक वर्ष तिहार आउनासाथ उनलाई स्कुलस्कुलमा पुर्याइन्थ्यो। उनको साहित्यिक छवि विराट् थियो।
उनका ती दुई कविताले पछिसम्म पनि दिमागमा झिल्का हान्थे। 'चन्द्रमा छुनु' भन्ने कुरा मानवको महान् आकांक्षा थियो। 'यात्री' पढेपछि ईश्वरप्रतिको धारणा बदलियो। भगवान्भन्दा मानिस ठूलो हुँदो रहेछ भन्ने विचार बलियो बन्यो।
नेपाली समालोचकहरूले देवकोटा र उनका समकालीनहरूका विषयमा गम्भीर अध्ययन गरिरहेका छन् कि देवकोटाहरूकै मात्र नाम लिएर सजिलै पन्छिनेमात्रै गरिरहेका छन्?
देवकोटाको जीवन-रेखामा अनेक बदलाव छन् । देवकोटा प्रयोगवादी, ईश्वरवादी, यथार्थवादीदेखि समाजवादीसम्म भएका छन्। विचारको एउटै लिकमा उनी हिँडेका छैनन्। ईश्वरवादी देवकोटाले पछि माओत्सेतुङबाट पनि प्रभावित भएर कविता लेखेका छन्।
अब नेपाली समालोचकको कुरा गरौं। समालोचकको समस्या म बुझ्दिनँ। उनीहरूले आफ्नो विधामा रिस्क लिन चाहेको देखिँदैन। सजिलोकै लागि होला, समालोचकहरू देवकोटाको नाम लिन्छन् र त्यसपछिका पुस्ताको उल्लेखै गर्दैनन्।
जोखिम उठाउन डराउँछन्। पुरानै आँखाबाट देवकोटाको प्रशंसामा डुबिरहेका छन्। देवकोटालाई नयाँ सन्दर्भमा हेर्ने कुरा समालोचकहरूबाट आएकै छैन।
तपाईं प्रगतिशील आन्दोलनमा होमिनुभो जीवनको उर्वर समयमा। एकजना कम्युनिस्टको आ“खाबाट हेर्दा देवकोटाको लेखन कस्तो देख्नुहुन्छ? उनको वैचारिक भूमि को हो?
देवकोटाको अतिमूल्यांकन गर्नु हुँदैन। राष्ट्रले मानेजस्तै त्यो सापेक्षतामा उनी महाकवि हुन्। विचारको रूपान्तरणले उनी कम्युनिस्ट आन्दोलनका नजिक थिए। समाजवादी आन्दोलनकै नजिक थिए।
तासकन्दको अफ्रो-एसियाली लेखक सम्मेलनमा दिएको भाषणले उनलाई स्पष्ट समाजवादी देखाउँछ। समाजवादले विराट् मानवतालाई पछ्याउँछ भन्नेमा उनी विश्वस्त थिए।
उनले सामाजिक न्यायको पक्षमा समाजवाद ठीक हो भने। 'पहाडी पुकार'जस्ता केही रचना र केही कविताले उनले वर्गसंघर्षलाई मानेको देखिन्छ। जीवनभरि नै प्रयोग गरिरहेका ती मानिस जीवनको अन्तिम समयमा समाजवादी भएका थिए।
४. तपाईंले भनेजस्तो देवकोटा 'समाजवादी' भएका भए जीवनको अन्तिम घडीमा 'आखिर श्रीकृष्ण रहेछ एक' भनेर किन 'ईश्वरवादी' देखिए त?
सायद उनको अवचेतन मनमा त्यो कविता थियो। फेरि समाजवादी भइसकेपछि पुरानो विचारमा फर्कनै हुन्न भन्ने हुन्न होला।
कतिपयले त ‘आखिर श्रीकृष्ण रहेछ एक' कविता उनले लेखेकै होइन पनि भनेका छन्। उनी 'ईश्वरवादी' नै हुन् भनेर मूल्यांकन गर्नुहुन्न।
देवकोटाका कविता, निबन्ध बौद्धिक छन् कि मास अपिलका मात्रै लागि लेखिएका छन्?
संख्यामा बढी ध्यान दिएका छन्। उनकै समकालीन बालकृष्ण समचाहिँ निकै बुद्धिविलास गर्थे तर देवकोटाचाहिँ भावनामा बग्थे । कति विधामा देवकोटा निकै कमजोर छन्। उनका कथा, उपन्यास गतिला छैनन्।
सचेत भएर, दार्शनिक र वैचारिक भएर लेखिएका निबन्धमा चाहिँ उनी जमेका छन् । त्यसकै प्रमाण हो, उनको ‘लक्ष्मी निबन्धसंग्रह'। त्यसैगरी महाकाव्यमा पनि उनी राम्रैसँग जमेका छन्। तर, उनका निकै स्तरहीन कविता पनि प्रकाशित छन्।
'मुनामदन' पपुलर हुनुमा मुख्य कारण मास अपिल हो। त्यसमा बौद्धिक, दार्शनिक तत्व अलिकति पनि छैन । ‘मुनामदन’को पपुलारिटीको मुख्य कारण झ्याउरे लय हो, त्यसको कथा र कन्टेन्ट होइन।
देवकोटाबारे हरेक साल, हरेक याम, हरेक विश्वविद्यालयका कक्षा र सामान्य साक्षरको घरमा पनि बारम्बार चर्चा भइरहन्छ । वास्तवमा यस्तो चर्चाका लागि उनी कति योग्य छन्?
इतिहासको ट्र्याजेडी के भने हरेक समाजलाई एउटा ठूलो र 'महान्' व्यक्तित्व चाहिँदो रहेछ-'महाकवि' पनि 'राष्ट्रकवि' पनि। उनलाई हामीले मानक बनायौं, 'ओभररेटेड' गर्यौं। देवकोटाका कमजोरीतिर एकपटक पनि फर्केर हेरेनौं । त्यसको ठूलो असर हामीले अहिले पनि भोगिरहेका छौं।
उनले जीवनमा ६ वटा महाकाव्य लेखे । सबभन्दा राम्रो भनिएको 'शाकुन्तल' हो। त्यसको सम्प्रेषणीयता खत्तम छ। त्यसलाई अनुवाद गर्ने हो भने विश्व साहित्यको सापेक्षतामा त्यो निकै पछाडि पर्छ।
कालीदासको 'शाकुन्तलम्'लाई नउछिनी नयाँ 'शाकुन्तलम्' हुनै सक्दैन। तर, देवकोटालाई गरिने भक्तिपरम्परा निरन्तर जारी छ।
देवकोटालाई 'ओभररेटेड' भन्दा त्यति विराट् कविको अवमूल्यन भएन र?
उनका कमजोरीबारे अघि पनि कुरा गरियो। देवकोटाको 'सुलोचना' महाकाव्य निकै कम क्वालिटीको हिन्दी सिनेमाजस्तो छ। उनले त्यसलाई १० दिनमै लेखे भनेर हामीले 'चमत्कार' भन्यौं।
कसले कति दिनमा किताब तयार गर्छ त्यो ठूलो कुरा होइन, ठूलो कुरा त उसले कस्तो लेख्यो भन्ने हो। तर, एकजना मानिसका हिसाबले उनी सबैभन्दा समुन्नत र इमानदार व्यक्ति थिए।
वर्तमान समयमा उनको मूल्यांकन कसरी गरिनुपर्ला ?
यस बेला म भूपि सम्झन्छु। उनले भनेका छन्, ‘प्रयोगमै देवकोटाको सारा जिन्दगी सकियो।' भूपिको त्यो भनाइलाई म मान्छु। देवकोटाबारे पुनर्मूल्यांकन जरुरी छ। ल उनी 'महान्' थिए रे त्यो मान्यौं। तर, उनले लेखेका सबै उच्च गुणस्तरका थिए भनेर कसरी मान्ने?
इतिहासको ट्र्याजेडी के भने हरेक समाजलाई एउटा ठूलो र 'महान्' व्यक्तित्व चाहिँदो रहेछ- 'महाकवि' पनि 'राष्ट्रकवि' पनि। देवकोटालाई हामीले 'मानक' बनायौं, 'ओभररेटेड' गर्यौं। उनका कमजोरीतिर एकपटक पनि फर्केर हेरेनौं। त्यसको ठूलो असर हामीले अहिले पनि भोगिरहेका छौं।
अहिलेको नयाँ राष्ट्रवादमा उनी अटाउँदैनन् भन्ने कुरा आउँछ। तर, आज उठेका वैचारिक आन्दोलनको कसीमा उनको मूल्यांकन गर्नुहुन्न । उनको मूल्यांकन उनकै समयमा पसेर गर्नुपर्छ।
लेखनको गुणस्तरमा ध्यान नदिनु, चुरोटका खोलमा पनि कविता लेख्नु, त्यसलाई कतै फालिदिनु र त्यस्ता लेखनको स्वामित्व नलिनु, गुणस्तरमा वेवास्ता गर्नु र संख्यामा ध्यान पुर्याउनु देवकोटाका खास कमजोरीहरू हुन्।
‘लेखनीलाई फरक, आकर्षक, चोटिलो बनाउने गुण देवकोटासँग जन्मजात थियो', 'उनी सरस्वतीका वरदपुत्र थिए' भनेर थुप्रै किताबमा लेखिएका छन्। मानिसमा धाराप्रवाह लेखन-प्रतिभा जन्मजात हुन्छ वा त्यस्तो क्षमता भन्ने कुरा उसको कर्मले खारिएर बन्ने हो?
मानिसमा जन्मजात कुनै गुणहरू हुँदैनन्। त्यो उसको हुर्काइ क्रममा चेतनाको स्तर कसरी निर्माण हुन्छ भन्ने कुराले निर्धारण गर्छ। देवकोटा दलित परिवारमा जन्मेका भए वा बाहुन परिवारमै जन्मेर पनि दलित परिवारमा हुर्केका भए उनी यस्तो 'देवकोटा' हुँदैनथे।
उनको परिवार निकै शिक्षित र बौद्धिक थियो। त्यसैको प्रभाव उनले ग्रहण गरेका हुन्। म सानै हुँदा मेरा बाजेले संस्कृतका श्लोक भन्ने हुनाले संस्कृत व्याकरणको कुनै ज्ञान नहुँदा पनि मेरो दिमागमा ती श्लोकहरू सेट भएर बसेका थिए। त्यस्तै गरी देवकोटाले पनि थुप्रै कुरा छिट्टै सिक्ने मौका पाए र उनी यति ठूला लेखक बनेका हुन्।
उनले समग्र नेपाली साहित्यमा त्यस्तो के दिए जसले गर्दा उनलाई आमपाठकले मनमस्तिष्कमा जुनै बेला राखिरहेका हुन्छन्?
देवकोटाले गोठालो जाँदा गोठालोहरूले गाउने 'मुनामदन' दिए। बौद्धिकहरूलाई 'पागल' कविता दिए।
शास्त्रीयहरूलाई 'शाकुन्तलम'............? ? ? ? ? ? दिए। काव्यात्मक प्रवाह मन पराउनेहरूलाई 'लक्ष्मी निबन्धसंग्रह' दिए। त्यसैले उनी नेपालीहरूको मन-मस्तिष्कमा जीवित छन् ।
हामीकहाँ 'महाकवि' भन्ने पगरीको पछि कुद्ने परम्परा छ। पाठकहरू पनि 'महाकवि'कै पछि कुदेका छन्। देवकोटाका साहित्य कति दीर्घजीवी छन्, त्यसको वस्तुपरक लेखाजोखा भएको छ?
छैन। बरु सुरु भएको भने पक्का हो । भूपिले पनि वस्तुपरक लेखाजोखाको कुरा उठाएका थिए। नयाँ पुस्ताले पनि उनका कमजोरीबारे कुरा गर्दैछन्।
नेपाल प्रज्ञाप्रतिष्ठान, विश्वविद्यालयहरू देवकोटाको वस्तुनिष्ठ पुनर्मूल्यांकन गर्नुपर्छ भनेर कहिल्यै भन्दैनन्। तर, हामीले हरेक पुस्ताका मानिसबारे आत्ममन्थन गर्नुपर्छ ।
तपाईंको विचारमा हामी उनलाई 'देवत्वकरण' गरिरहेका छौं त?
हो। देवत्वकरण हाम्रो समाजको ठूलो कमजोरी हो। तर, देवकोटा 'देवत्वकरण'कै विरोधमा थिए। उनी त मानिसको पक्षमा थिए।
देवकोटाको लेखनको लय र सपना के हो?
– उनको प्रस्थानबिन्दु नै 'आफू होइन अरू' भन्ने बुझिन्छ। उनले 'आफ्ना' लागि कुनै व्यवस्था गरेनन्। आफू र परिवारका लागि केही गरेको देखि“दैन । उनको रचनाको कार्यव्यापार 'अर्काका निम्ति केही गरौं' भन्नेबाट प्रेरित छ।
१४. समग्र देवकोटा पढ्दा उनी कसैबाट प्रभावित लाग्छन्?
खासमा उनी धेरै लेखक र वादहरूबाट प्रभावित छन्। उनको स्वच्छन्दतावाद अंग्रेजी कवि वर्डस्वर्थबाट प्रभावित छ।
उपनिषद् पूर्वीयबाट र यथार्थवाद पश्चिमीबाट। उनी सामाजिक यथार्थवादी पनि देखिए। अनि माओ, लेनिनबाट पनि प्रभावित देखिए।
नेपाली निबन्धमा देवकोटाको स्थान के?
जुन बेला हामी राष्ट्रिय अस्तित्वका निम्ति संघर्ष गरिरहेका थियौं, उनले ‘के नेपाल सानो छ?' निबन्धमा हामीलाई राष्ट्रवादको पराकाष्टा देखाइदिए।
पाश्चात्य पुँजीवादले चरम विकृति ल्याएका बेला उनले 'गाउँ जाऊँ' भनेर लेखिदिए। मानवताका निम्ति उनको उभ्याइ गजब थियो । उनले कविताको भाषामा निबन्ध लेखे।
यही कारणले उनी खास स्थापित भए। तर, देवकोटाकै जस्तो निबन्ध लेखेर कोही अरू मानिस आज स्थापित हुन सक्दैन।

Post a Comment