Header Ads

दोस्रो विश्वयुद्धयता फ्रान्समा पहिलोपटक राष्ट्रिय संकटकाल घोषणा

  • - कम्तीमा १२७ को हत्या, १८० घाइते, - इस्लामिक स्टेट (आईएस) ले लियो जिम्मेवारी
रोयटर्सएपी, पेरिस
कार्तिक २८, २०७२- बन्दुकधारी र बम बोकेका व्यक्तिहरूले फ्रान्सको राजधानी पेरिसका रेस्टुराँहरू, कन्सर्ट हल र खेलमैदानमा गरेको आतंकवादी आक्रमणमा कम्तीमा १ सय २७ जनाको ज्यान गएको छ । अन्य १ सय ८० जना घाइते रहेको प्रहरीले जनाएको छ, तीमध्ये आधाको अवस्था चिन्ताजनक छ ।
राष्ट्रपति फ्रास्वाँ होल्यान्डेले उक्त आक्रमण आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले गराएको बताएका छन् । सोही समूहले आक्रमणको जिम्मा लिएको छ । आईएस समर्थकहरूले शनिबार वितरण गरेको अनलाइन विज्ञप्तिमा विस्फोटक पदार्थ र राइफल भिरेका आफ्ना ८ लडाकुले उक्त घटना गराएको उल्लेख छ । यसअघि आईएसले सार्वजनिक गरेको एक श्रव्यदृश्य सामग्रीमा अमेरिका नेतृत्वमा आफ्ना लडाकुविरुद्ध हवाई आक्रमणमा संलग्न फ्रान्सलाई शान्तिपूर्वक बस्न नदिइने उल्लेख थियो ।
अधिकारीहरूका अनुसार पेरिस सिटी हलमा ४ बन्दुकधारीले नियोजित रूपमा ८७ जनाको हत्या गरेका थिए । बटाक्लान कन्सर्ट हलमा रक कन्सर्ट भइरहँदा बन्दुकधारीले अन्धाधुन्द गोली बर्साएका थिए । प्रतिआतंकवाद एकाइका कमान्डोले तत्काल सिटी हलमा जवाफी कारबाही थालेका थिए । त्यस क्रममा विस्फोटक पदार्थ निष्क्रिय बनाउँदै बन्दुकधारीको निसाना बन्नबाट बच्न सफल व्यक्तिहरूलाई कमान्डो टोलीले बाहिर निकालेको थियो । क्यालिफोर्नियाको रक समूह ‘इगल्स अफ डेथ मेटल’ ले प्रस्तुति दिइरहेको समयमा दर्शकमाथि पछाडिबाट गोली हानिएको थियो । 
उक्त हल व्यंग्य साप्ताहिक पत्रिका चार्ली हेब्डोको कार्यालयनजिक पर्छ । उक्त साप्ताहिकको कार्यालयमा गत जनवरीमा इस्लामिक बन्दुकधारीले आक्रमण गरेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार बन्दुकधारीले गोली बर्साउँदै गर्दा सिरियामा फ्रान्सेली भूमिकाको विरोध गर्दै नारा लगाएका थिए । हलबाट प्रत्यक्ष प्रसारण गरिरहेका युरोपका १ रेडियोका पत्रकार जुलिएन पिर्सका अनुसार मास्क नलगाई आएका आतंककारीले कलास्निकोभ एसल्ट राइफलबाट अन्धाधुन्द गोली बर्साएका थिए । एक २२ वर्षीया युवती कन्सर्ट हेर्न हलभित्र प्रवेश गर्न खोज्दै थिइन्, मेसिन गन बोकेका ३ व्यक्ति देखेपछि फर्किइन् । 
पेरिसका विभिन्न स्थलमा एकै समयमा भएका अन्य ५ वटा आक्रमणमा ४० भन्दा बढीको हत्या भएको छ । ‘स्टेट डे फ्रान्स राष्ट्रिय स्टेडियम’ बाहिर २ वटा आत्मघाती विस्फोट गराइएको थियो । उक्त स्टेडियममा राष्ट्रपति होल्यान्डे र जर्मनीका विदेशमन्त्री फ्रान्क वाल्टर स्टेइनमिएर मैत्रीपूर्ण फुटबल प्रतियोगिता अवलोकन गरिरहेका थिए । विस्फोटका बावजुद फुटबल प्रतियोगिता निरन्तर रह्यो । खेलमैदानबाहिर एक सिरियाली राहदानी फेला परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आईएसविरुद्ध इराक र सिरियामा अमेरिका नेतृत्वमा जारी सैन्य कारबाहीको फ्रान्स पनि एक सदस्य हो । पेरिसमा आगामी महिना जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी सम्मेलन सुरु हुने कार्यक्रम थियो । जलवायु सम्मेलनमा अमेरिकी राष्ट्रपति ओबामासहित ८० राष्ट्र/सरकार प्रमुख सहभागी हुने कार्यक्रम थियो । उच्च सुरक्षा सतर्कताका बावजुद पनि आतंकवादी आक्रमण भएको छ ।
सन् २००४ मा भएको मड्रिड रेल आक्रमणपछिको युरोपमा यो सबैभन्दा ठूलो रक्तपात हो । उक्त घटनामा १ सय ९१ जनाको हत्या भएको थियो । 
पेरिसभरका आक्रमणमा संलग्न ८ आतंककारी मारिएको अधिकारीहरूले जनाएका छन् । तीमध्ये ७ जना आत्मघाती थिए भने अर्का एक लडाकु प्रहरी कारबाहीमा मारिएका हुन् । 
‘स्टेडियममा प्रवेश गर्नुअघि आतंककारीले रेस्टुराँहरूमा आक्रमण गरेका थिए । भयानक र पाशविक अवस्थामा धेरै व्यक्तिलाई निशाना बनाइएको छ,’ पेरिस प्रहरी प्रमुख मिसेल क्याडोटले भने । पेरिसको केन्द्रस्थित क्याम्बोडियाली रेस्टुराँमा पनि बन्दुकधारीले गोली बर्साएका थिए । उक्त स्थानमा १८ जनाको ज्यान गएको छ । 
खेल मैदाननजिक भएको विस्फोटलगत्तै राष्ट्रपति होल्यान्डेले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । दोस्रो विश्वयुद्धयता पहिलोपटक फ्रान्समा संकटकाल घोषणा भएको हो । 
आक्रमणकारीहरूलाई अन्य देशतर्फ भाग्न नदिन सबै नाका बन्द गरिएको छ । स्थानीय खेलकुद प्रतियोगिताहरू स्थगित भएका छन् भने रक ब्यान्ड यू २ ले कन्सर्ट रद्द गरेको छ । पेरिस मेट्रो रेल सेवा र विद्यालयहरू बन्द भएका छन्, विश्वविद्यालय र नगरपालिका भवनहरू बन्द राख्न सरकारले आदेश दिएको छ । थोरै रेल र हवाई सेवा मात्र चालू राखिएको छ । 
‘भयानक आतंककारी आक्रमण भएको छ,’ स्थानीय समयअनुसार शुक्रबार मध्यरातमा टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै विचलित अवस्थामा देखिएका राष्ट्रपति होल्यान्डेले भने । मन्त्रिपरिषदको आपतकालीन बैठकअघि उनले देशवासीलाई सम्बोधन गरेका थिए । बैठकपछि उनी आतंकवादी आक्रमण भएको बटाक्लान हल पुगे, जहाँ आतंककारीविरुद्ध कठोर जवाफ दिइने बताए ।
खेल मैदानमा भएको आक्रमण प्रत्यक्ष देखेका सिल्भेस्ट नामका व्यक्ति सेलफोनका कारण बचेका छन् । बमको छर्रा उनको मोबाइलमा ठोक्किएर फर्केको थियो । ‘बमको छर्रालाई मेरो मोबाइलले नछेकेको भए टाउकोमै लाग्ने थियो,’ उनले भने । फ्रान्सेली अखबारहरूले आक्रमणलाई ‘नरसंहार’ र ‘विभीषिका’ संज्ञा दिएका छन् । ले फिगारो अखबारले आफ्नो हेडलाइनमा ‘पेरिसको मुटुमा युद्ध’ शीर्षक दिएको छ ।
पेरिसभर आकस्मिक सेवा परिचालन गरिएको छ । प्रहरीका छुट्टी रद्द भएका छन् । १ हजार ५ सय सैनिक परिचालन गरिएको छ । रेडियोहरूले पेरिस महानगरका बासिन्दालाई घरबाहिर ननिस्कन र कोही सडकमा अलपत्र देखिए शरण दिन आग्रह गरिरहेका छन् । मानिसहरूलाई सुरक्षित स्थलका लागि टविटरमा ‘ओपन डोर’ हयास–टयाग ट्रेन्ड भइरहेको छ ।
उच्च सतर्कता
चार्ली हेब्डोको कार्यालयमा बन्दुकधारीले १८ जनाको ज्यान लिएपछि फ्रान्समा उच्चसुरक्षा सतर्कता अपनाइएको थियो । लाखौं पेरिसवासीले उक्त आक्रमणविरुद्ध प्रदर्शन गरेका थिए ।

त्यस समयमा फ्रान्समा ऐतिहासिक एकता प्रदर्शन भएको थियो । जब चरम दक्षिणपन्थी धारले मूलप्रवाहका दुवै दलमा पकड बनाए, उक्त एकता कायम रहेन । ‘मरिन ले पेन’ नाम उक्त धार आप्रवासी र इस्लामका कारण देशको सुरक्षा जोखिम बढाएको विश्वास गर्छ । महिना दिनभन्दा कम समयमा हुन लागेको क्षेत्रीय निर्वाचनमा पछिल्लो आक्रमणले पार्न प्रभाव स्पष्ट भइसकेको छैन । तर, ‘ले पेन’ को राष्ट्रिय मोर्चाले अझ बलियो रूपमा प्रस्तुत हुने योजना बनाइसकेको छ । सत्तारूढ सोसलिस्ट पार्टी र दी नेसनल फ्रन्टले निर्वाचन अभियान स्थगित गरेका छन् । राष्ट्रपति होल्यान्डेले जी–२० शिखर सम्मेलनका लागि सप्ताहान्तमा गर्न लागेको टर्की भ्रमण रद्द गरेका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा र जर्मन चान्सलर एन्जेला मर्केलले फ्रान्सको विपत्तिमा ऐक्यबद्धता जनाएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले घृणित आक्रमणको संज्ञा दिँदै भत्र्सना गरेका छन् । भ्याटिकन सिटीले ‘पागल आतंककारी हिंसा’ भनेको छ । इटालीले आफ्नो सीमाक्षेत्र र मुख्य सार्वजनिक स्थलहरूमा सुरक्षा कडा बनाएको छ ।
पेरिस आक्रमणलगत्तै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाए । प्रहरीलाई उच्च सुरक्षा व्यवस्थाका लागि सरकारले निर्देशन दिएको छ । टविटरमार्फत क्यामरुनले आक्रमणलाई भयानक र बीभत्स बताएका छन् । इरानी राष्ट्रपति हसन रुहानीले आफ्नो फ्रान्स भ्रमण स्थगित गरेका छन् । बेलायत सरकारले जासुसी संयन्त्र कोब्रालाई सक्रिय बनाएको छ ।
राष्ट्रपति होल्यान्डेका अनुसार फ्रान्सेली प्रहरीलाई आक्रमणकारी समूहको थप योजना पहिचान गर्न निर्देशन दिइएको छ । आक्रमणको क्रममा मारिएका लडाकुको राष्ट्रियतालगायत विषय पहिचान गर्नसमेत प्रहरीले निर्देशन पाएको छ । विश्वकै पर्यटकीय केन्द्रमा शान्ति र अमनचयन बहाली गर्न सैनिक गस्ती थालिएको छ । सबैभन्दा बढी पर्यटक भेला हुने डिस्नेल्यान्ड थिमपार्क आक्रमणलगत्तै बन्द भएको छ । सुरक्षाका कारण नभई पीडितप्रति सहानुभूति र आतंकवादविरुद्ध राष्ट्रिय ऐक्यबद्धता व्यक्त गर्न बन्द गरिएको थिमपार्क व्यवस्थापनले जनाएको छ । 
यस वर्ष फ्रान्सले पटक–पटक स–साना आतंककारी आक्रमण बेहोरिसकेको छ । गत अगस्टमा नेदरल्यान्डसबाट पेरिस जाँदै गरेको रेलमा बन्दुकधारीले गरेको आक्रमण प्रयास अमेरिकी यात्रुले असफल बनाइदिएका थिए ।
‘यो पूर्वनियोजित, संगठित, विदेशमा योजना बनाइएको र आन्तरिक सहयोग प्राप्त युद्धको सुरुवात हो,’ राष्ट्रपति होल्यान्डेले भने । फ्रान्सेली अधिकारीहरूले खासगरी सिरिया भ्रमणमा जाने आफ्नै देशका इस्लामिक अतिवादीहरूको गतिविधिमाथि चासो बढाएका छन् । ‘सबैको मनमा आक्रमणकारी सिरियाको कुनै आतंकवादी संगठनका लडाकु थिए या स्वदेश फर्केका फ्रान्सकै अतिवादी भन्ने प्रश्न छ,’ वासिङटनस्थित आरएएनडी कर्पोरेसनका वरिष्ठ परामर्शदाता तथा आतंकवाद विज्ञ ब्रायन माइकल जेन्किन्सले भने, ‘यो धेरै ठूलो प्रश्न पनि हो ।’
प्रकाशित: कार्तिक २८, २०७२




No comments

Powered by Blogger.