पेरिस आक्रमण: आतंकवादको बदलिँदो परिवेश
फ्रान्समा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो हमलाले विश्वको ध्यान पुनः आतंकवादतर्फ केन्द्रित गरिदिएको छ। यसै वर्ष जनवरी ७ मा भएको चार्लिहेब्डो पत्रिकाको कार्यालयमा भएको आतंकवादी आक्रमणको १० महिना नबित्दै पेरिसमा भएको अर्को त्रासदीपूर्ण आतंकवादी हमलाले विश्व समुदायलाई आतंकको बदलिँदो स्वरूप र शैलीको झलक दिएको छ।
पेरिस आक्रमणको स्तर र स्थान एउटा त्रास र शोकमात्र नभएर आतंकवादको बढ्दो प्रभाव र विस्तारले विश्वको सुरक्षामाथिको थोपरेको सुरक्षा चुनौतीको उदाहरण पनि हो।एकै रातमा आधा दर्जन स्थानमा भएको शृंखलाबद्ध हमलाले फ्रान्सको राष्ट्रिय प्राथमिकतामै परिवर्तन ल्याउने गरी घटनाक्रम विकास भइरहेका छन्।
युरोपको प्रमुख राजनीतिक र सैनिक शक्ति राष्ट्रको राजधानीमाथि भएको हमलाको जिम्मेवारी इस्लामिक स्टेट आतंकवादी समूहले लिएको छ। आतंकवादी आक्रमणपछि संकटकालको घोषणा गर्दै तीन दिन राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ।
पेरिस आक्रमणपछि फ्रान्सले इराक र सिरियामा आधार इलाका बनाइरहेको विश्व आतंकवादी सञ्जाल इस्लामिक स्टेटलाई ध्वस्त पार्ने चेतावनी दिएको छ। निश्चय नै, पेरिस हमलापछि आतंकवादविरुद्धको लडाइँले थप व्यापकता मात्र पाउने छैन, आन्तरिक नीतिसँगै युरोपको शरणार्थी र आप्रबासी नीतिसम्मलाई प्रभावित तुल्याउनेछ।
पश्चिमा जगत्मा अमेरिकापछिको शक्तिशाली सैनिक, कूटनीतिक र गुप्तचरी शक्ति भएको फ्रान्स अन्य देशविरुद्ध एक्लै हमला गर्न सक्षम एकल युरोपेली शक्तिराष्ट्र पनि हो। फ्रान्सले सन् १९६० पछि अफ्रिकामा ५० पटक भन्दा बढी सैन्य कारबाही गरिसकेको छ।
तर पनि पेरिस हमलालाई लिएर उसले तत्कालै इराक र सिरियाको ठूलो क्षेत्रफलमाथि कब्जा जमाएर शासन चलाइरहेको स्लामिक स्टेटविरुद्ध स्थल कारबाही गर्ने सम्भावना भने कमै छ।जुन उसले अलकायदाविरुद्ध आफ्नो देशभन्दा दोब्बर ठूलो देश मालिमा सन् २०१२ मा एक्लै अप्रत्यासित कारबाही सुरु गर्दै बृहत् अफ्रिकी गठबन्धनको नेतृत्व लिएको थियो।
त्यस्तै प्रकृतिको कारबाही नथाले पनि उसले बदलास्वरूप आतंकवादी समूहका निशानालाई लक्षित गरी हवाई कारबाहीलाई थप आक्रामक पार्न सक्छ। अफ्रिकी क्षेत्रमा आतंकवादविरुद्ध युद्ध मोर्चाको अग्रणी देश फ्रान्सले अमेरिकी नेतृत्वको गठबन्धनमा आबद्ध रही सिरिया र इराकमा हवाई हमला गरिरहेको छ।
दक्षिण एसियामा इस्लामिक स्टेटको कालो छाया
पेरिस आक्रमणपछि निश्चय नै पश्चिमा देशहरूले आतंकवादविरुद्धको युद्धलाई व्यापकता दिनेछन् तर आतंकवादको फैलिँदो जालो कुनै निश्चित क्षेत्रीय सिमानामा मात्र केन्द्रित छैन।
विश्व आतंकवादी सञ्जाल अलकायदा एक दसकअघि केही देशको सिमानामा सीमित रही गतिविधि गरिरहेकोमा हाल मध्यपूर्व र अफ्रिकाका केही देशहरूमा त ठूलो भूभाग कब्जा गरी शासन नै चलाइरहेको छ। स्लामिक स्टेट-२ देशबाट घोषणा गरी हाल १७ भन्दा बढी देशहरूमा शाखा विस्तार गरिसकेको छ। उसले दक्षिण एसियामा आफ्नो सञ्जाल विस्तार गर्न हर तवरबाट प्रयत्नशील छ।
सन् २०१४ जुनमा सिरिया र इराकको नक्सा नै मेटी छुट्टै देश इस्लामिक स्टेट घोषणा गर्दै अबु बकार अल बग्दादीलाई विश्वभरकै मुस्लिमको नेता घोषणा गरेको इस्लामिक स्टेल बर्बरताको पर्याय नै बनेको छ। इस्लामिक स्टेटको आगमनसँगै विश्वको आतंकवादको परिदृश्य नै बदलिन पुग्यो।
सन् २००३ देखि अलकायदाको इराक शाखामा रहेको समूह सिरियाली गृहयुद्धपछि शक्तिशाली अलकायदाविरुद्ध युद्धमा होमिन पुग्यो। आतंकवादको स्वरूप, शैली र परम्परागत परिभाषा नै बदलिने गरी बर्बरतापूर्ण शासन थालेको समूहले असीमित उद्देश्य र महत्वाकांक्षाहरू बोकेको छ, जसले संसारभर सुरक्षा चुनौती थोपरिदिएको छ।
मध्यपूर्वमा मात्र होइन, एसियादेखि अफ्रिकासम्म शाखा विस्तार गरिसकेको इस्लामिक स्टेट अर्को विश्व आतंकवादी सञ्जाल अलकायदाको परम्परागत पकड तोड्न दक्षिण एसियामा समेत क्षेत्रीय प्रभाव विस्तार गर्न तीव्र गतिका साथ अघि बढिरहेको छ। सन् १९७९ देखि नै जिहादको मूल मानिएको अफगान-पाकिस्तान क्षेत्रबाट अलकायदालाई विस्थापित गर्ने र त्यहाँ सक्रिय चरमपन्थी समूहहरूलाई आफूमा आबद्ध गराउ“दै अर्को क्षेत्रीय युद्धका लागि इस्लामिक स्टेट सक्रिय छ।
उसले आफ्नो दीर्घकालीन उपस्थितिका लागि केही स्थानीय अतिवादी समूहहरूलाई समेत समेटिसकेको छ। रणनीतिक भौगोलिक अवस्थिति र तेलमा निर्भर आम्दानीलाई लागूऔषध तस्करीतर्फ केन्द्रित गर्ने उद्देश्यसहित इस्लामिक स्टेट अफगानिस्तान हुँदै दक्षिण एसिया र मध्य एसियामा प्रवेश गर्ने मार्गचित्र कोरेको छ।
इस्लामिक स्टेटले अफगानिस्तान र पाकिस्तान समेटेर खोर्सान प्रान्तको घोषणा गर्दै क्षेत्रैभरि आफ्नो प्रभाव विस्तार गर्ने महत्वाकांक्षासँग बोकेको छ।अफगानिस्तानको नांगरहार प्रान्तमा आधारइलाका बनाएको यो समूहले आक्रमण, प्रचार र भर्नालाई तीव्रता दिँदै थप शक्तिशाली भइरहेको छ।
प्रमुख शक्तिराष्ट्रहरूको कारबाहीपछि इराक र सिरियामा केही कमजोर बनेको स्लामिक स्टेट अन्य क्षेत्रमा विस्तार बढाइरहेको छ। जुन रणनीतिक अलकायदाले अमेरिकाले सन् २००१ मा आतंकवादविरुद्धको विश्वव्यापी युद्धको सुरुआतीसँगै अफगान-पाकिस्तानको आधार इलाकालाई इराक, यमन, नाइजेरिया, अल्जेरिया, माली, सोमालिया, लिबयिा, सिरियालगायत देशहरूमा विकेन्द्रित गरेको थियो।
इस्लामिक स्टेट अफगान-पाकिस्तान सीमावर्ती क्षेत्र हुँदै दक्षिण एसिया, अरब सागरदेखि मध्य एसियाली देशहरूमा शाखा विस्तार गर्ने पुलको रूपमा उपयोग गर्न खोजेको छ। अलकायदा आबद्ध उज्वेकिस्तानी आतंकवादी समूह इस्लामिक मुभमेन्ट अफ उज्वेकिस्तानलाई इस्लामिक स्टेटले आफ्नो समूहमा एकता गरिसकेको छ।
यही भूमिबाट इस्लामिक स्टेट उज्वेकिस्तानमा रहेको आफ्नो शाखासँग सम्पर्क गराई मध्य एसियाली क्षेत्रभरि नै विस्तार हुने र चीनको सिन्जियानसम्म फैलिने महत्वाकांक्षा सार्वजनिक गरिसकेको छ।गत सेप्टेम्बर २८ मा बंगलादेशको राजधानी ढाकाको कूटनीतिक इलाकाभित्रै इटालियन सहायता संस्थासँग आबद्ध व्यक्तिको हत्याको जिम्मेवारी लिई बंगलादेशमा उपस्थितिको दाबी गरेको स्लामिक स्टेटले लगत्तै अक्टोबर ३ मा जापानी नागरिकको हत्या, सिया मुस्लिमको र्यालीमाथिको बम हमला र प्रहरी बिटमाथिको आक्रमणको जिम्मेवारी लिएको छ।
इस्लामिक स्टेट बंगलादेशका स्थानीय अतिवादी समूहहरूमाथि नियन्त्रण लिँदै म्यानमारतर्फको यात्राको लक्ष सार्वजनिक गरेको छ।सञ्चारमाध्यमले १३ जना भारतीय नागरिक इस्लामिक स्टेट आतंकवादी समूहमा आबद्ध रही सिरिया र इराकमा गएकोमा ६ जना मारिइसकेको दाबी गरेका छन्।
दक्षिण एसियाली देशहरूमा आतंक फैलाउन उद्यत् इस्लामिक स्टेटको गतिविधि मध्यनजर गर्दै यस क्षेत्रका देशहरूले बदलिँदो परिवेशअनुसार सुरक्षा रणनीति तर्जुमा नगरे जुनसुकै बेला यो क्षेत्रको राजधानी उसको निशानामा पर्न सक्ने तथ्य नकार्न सकिन्न।
इस्लामिक स्टेट समूहमा भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, पाकिस्तान, अफगानिस्तानका नागरिकहरूको संलग्नता र उनीहरूलाई नै प्रयोग गरी बारम्बार आइरहेको चेतावनीले इस्लामिक स्टेट यो क्षेत्रमा पनि ठूलै आतंक सिर्जना गरी अलकायदाको परम्परागत पकड विस्थापित गर्न उद्यत् देखिन्छ।त्यस्तै इस्लामिक स्टेटले आफ्ना प्रचार सामग्रीहरूमा पाकिस्तान हुँदै कश्मीरमा सांगठनिक गतिविधि बढाउने चेतावनी दिइरहेको छ।
गत जुलाई १२ मा अमेरिकी हवाई हमलामा सिरियामा इस्लामिक स्टेट आबद्ध श्रीलंकाली नागरिक मारिएपछि हाल कति श्रीलंकालीहरू आतंकवादी समूहमा छन् भन्नेबारे लेखाजोखा जारी नै छ। सन् २०१३ देखि इस्लामिक स्टेट आतंकवादी सञ्जालमा आबद्ध पाँचजनाभन्दा बढी माल्दिभ्सका नागरिक सिरियामा मारिइसकेका छन् भने कति आतंकवादी समूहमा आबद्ध छन् भन्ने एकिन हुन सकेको छैन।
गत अगस्त ३१ मा इस्लामिक स्टेटले माल्दिभ्सका राष्ट्रपतिको हत्या गर्ने चेतावनी दिँदै भिडियो जारी गरेपछि उसले माल्दिभ्सभित्रै पनि आफ्नो गतिविधि बढाउन खोजेको सन्देश दिएको छ।साइबर आतंकवादलाई सबैभन्दा सशक्त ढंगबाट प्रयोग गरी पश्चिमा आधुनिक देशहरूलाई समेत हैरानी पारिरहेको यो आतंकवादी सञ्जालले जुनसुकै कुनामा बसेर यस क्षेत्रका व्यक्तिहरूलाई अतिवादको चंगुलमा फसाउन सक्ने खतरा प्रबल छ।
उसले अनलाइनमार्फत मनोवैज्ञानिक हुँदै भौतिक उपस्थितिको रणनीति अख्तियार गरेको छ। यो समूहले अन्य धर्म मानिरहेका व्यक्तिलाई समेत धर्म परिवर्तन गराई भित्र्याउने सक्रिय नीति लिइरहेको र पश्चिमा देशहरूबाट समेत भर्ना हुनेको लहर नरोकिएको अवस्थामा दक्षिण एसियामा अवस्थित देशहरूले भूगोल र धर्मकै आधारमा यसले आफ्नो भूगोलमा उपस्थिति जनाउन नसक्ने अनुमान गर्नु गलत हुनेछ।
इस्लामिक स्टेट आधुनिक युगको अनौठो आतंकवादी संगठन हो, जसले यसअघि कुनै पनि आतंकवादी सञ्जालले प्रयोग नगरेको रणनीति र कला प्रयोग गर्दै आफ्नो आतंकको राज विस्तार गरिरहेको छ। यसले आफ्नो विस्तारमा आर्थिक, सामाजिक, सैनिक र राजनीतिक अस्त्रसमेत प्रयोग गर्दै संसारभर फैलाउने महत्वाकांक्षी लक्ष बोकेको छ।
हाल दक्षिण एसियालाई लक्षित गरी इस्लामिक स्टेटले सामाजिक सञ्जाल र अनलाइन सामग्रीहरूको प्रचारलाई व्यापकता दिएको छ। उसले यो क्षेत्रमा उपस्थिति भएयता ५० भन्दा बढी भिडियो सन्देश जारी गरेको छ, जुन उसको प्रचार, व्यक्तिगत प्रभाव, समूह गठन र संगठन विस्तार गर्ने रणनीतिक चालाकै प्रक्रिया हो।
दक्षिण एसियाली देशहरूमा आतंक फैलाउन उद्यत् इस्लामिक स्टेटको गतिविधि मध्यनजर गर्दै यस क्षेत्रका देशहरूले बदलिँदो परिवेशअनुसार सुरक्षा रणनीति तर्जुमा नगरे जुनसुकै बेला यो क्षेत्रको राजधानी उसको निशानामा पर्न सक्ने तथ्य नकार्न सकिन्न।
Post a Comment