Header Ads

राजमार्गमा यात्रुबस नगुडाउन मोर्चाको चेतावनी


काठमाडौं ठप्प पार्न राजमार्ग अवरोध गर्ने

जनकपुरधाम : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबारबाट राजमार्ग ठप्प पारेर आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ । 
 शुक्रबार जनकपुरमा मधेसी मोर्चाको धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका नेता कार्यकर्ताहरुको अन्तरजिल्ला बैठकले तीन महिनादेखि जारी आन्दोलनलाई सरकारले बेवास्ता गरेकोले अब राजमार्ग अवरुद्ध गर्नुकोविकल्प नरहेको ठहर गरेको छ । 

अहिलेसम्म नाकाबन्दी र आमहड्ताल गर्दा पनि राजमार्ग खुल्ला रहँदा कुनै न कुनै माध्यमबाट काठमाडौंसम्म उपभोगका सामग्रीहरु पुग्ने गरेकोले काठमाडौंलाई ठप्प पार्न यस्तो निर्णय लिईएको मोर्चाका नेताहरुले जनाएका छन् । 

मधेसका चारवटा जिल्लामा अन्तर जिल्ला सम्पर्क समन्वयलाई बलियो बनाउंदै राजमार्गमा एकजुट भई प्रर्दशन गर्ने जनाइएको छ । 
 
त्यसैगरी मोर्चाले सीमापारीबाट ल्याउने डिजेल, पेट्रोल र इन्धनहरुमा कालोबजारी र तस्करी गरेको पाईएमा सवारी सहित जलाउने निर्णय समेत सार्वजनिक गरेको छ । 

विद्यालय तथा शैक्षिक संस्थानहरु विहान ६ बजेदेखि ११ बजेसम्म खोल्न दिइएपनि यातायातका साधन चलाउन नपाउने र विद्यालयहरुमा विरोधस्वरुप कालो झण्डा झुन्ड्याउनु पर्ने निर्णय मोर्चाको रहेको छ । 

मधेसमा अधिकार प्राप्तिको आन्दोलन भइराख्दा आफ्नो स्वार्थपूर्तिका लागि यहाँका बस व्यवसायीहरुले रात्रिबस प्रहरी स्कर्टिङमा चलाइरहेकोमा आपत्ति जनाउँदै मोर्चाले बस संचालन नगर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । 

यदि शनिबार देखि यस्तो कार्य रोकिएन भने बसमा हुने क्षतिको जिम्मेवार व्यवसायीहरु आफैं हुने मोर्चाले बताएको छ । 

मोर्चाले मंसिर ६ गते मधेसका जिल्लाहरु वृहत मशाल जुलुश प्रर्दशन र ७ गते घरघरमा श्रद्धान्जली सभा स्वरुप साझको बेला एक मिनेट सबैलाई मौन धारण गर्न अनुरोध गरेको छ । 

मोर्चाको आन्दोलन कुनै पनि अन्य सम्प्रदायको अधिकार कटौती गर्नको लागि नभई आफ्नो अधिकार प्राप्तीको लागि भएकोले यसमा सहयोग गर्न पहाडी र अन्य समुदायका व्यक्तिलाई समेत आग्रह गरिएको तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय उपाध्यक्ष वृषेश चन्द्र लालले बताए ।

यसै क्रममा मातृका यादवको संयोजकत्वमा रहेको संयुक्त मधेस आन्दोलन संघर्ष समितिले सरकारले मधेसको माग सम्बोधनमा बेवास्ता गरिरहेको अवस्थामा यदि मधेसका युवाले हतियार उठाए भने यसको जिम्मेवार राज्य हुने बताएका छन् । 

जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो धारणा राख्दै नेता यादवले आफ्नो अधिकार प्राप्तीको लागि युवाहरुले हतियार उठाउंदा राज्य यदि दमनमा उत्रियो भने त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी पनि सरकारले लिनु पर्ने बताएका थिए । 

उनले काठमाडौं केन्द्रित दलहरुलाई घुँडा टेकाउन राजमार्ग तथा भारतबाट आउने गरेको सामानहरु पूरै रोक्न आन्दोलन केन्द्रित हुनुपर्ने धारणा राखेका थिए । 

No comments

Powered by Blogger.