तातोपानी नाका खुलाउन कर्मचारीले असहयोग गरेको माधव नेपालको आरोप
- , काठमाडौं
कार्तिक २५, २०७२- पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले चीनसँगको नाका खुलाउन अलमल गर्ने सरकारलाई कर्मचारीलाई राष्ट्रघातीको संज्ञा दिई कारबाही गर्नुपर्ने धारणा राखेका छन् ।
भक्तपुरको सृजनानगरस्थित सूर्यनगरटोलमा बुधबार आयोजित दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा नेता नेपालले अवरुद्ध बाटो खुलाउनेतर्फ कुनै काम नभएकोमा आश्चर्य समेत राखे । ‘रसुवा नाकामा ४ ठाउँमा खाल्डा परेका हुन् । तातोपानी नाका समेत सजिलै खुलाउन सकिन्छ । तर, भौतिक योजना मन्त्रालय चुप लागेर बसेको छ,’ नेपालीलाई दु:ख परेको बेला कसैको इसारामा नाका खुलाउने काममा आलटाल गर्ने कर्मचारीलाई कारवाही गर्न सुझाव राख्दै उनले भने ।
वाणिज्य मन्त्रालय, भौतिक योजना मन्त्रालय लगायतका सचिवहरु र अन्य वरिष्ठ कर्मचारीलाई राष्ट्रिय हितको काममा लगाउँदा नमानेकाले राष्ट्रघातीको संज्ञा दिई बर्खास्त गर्नुपर्ने माग उनले गरेका हुन् । भारतले महिनौंसम्म नाकाबन्दी गरेर जनतालाई दु:ख दिएकाले सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्ने, तर झुक्न नहुने नेता नेपालको सुझाव थियो ।
कार्यक्रममा निवर्तमान उद्योग मन्त्री एवं एमालेका युवा नेता महेश बस्नेतले यो घटनाले नेपालीलाई आत्मनिर्भर हुन सिकाएको बताए । उनले नाकाबन्दीको अहिलेको अवस्थाबाट पार पाउन दलहरु एकढिक्का भई अघि बढ्नुपर्ने सुझाव पनि दिए । ‘कांग्रेसले पनि कुरा बुझ्नुपर्छ । यो राष्ट्रिय स्वाधिनता, स्वाभिमानको प्रश्न हो । हामीले घुँडा टेक्नुहुन्न,’ बस्नेतले भने ।
एमाले रौतहट–काठमाडौं सम्पर्क मञ्चको संयोजनमा भएको कार्यक्रममा सांसदहरु केदार सञ्जेल, लालबाबु यादव, रामकुमार भट्टराई, नेपाल पत्रकार महासंघ केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतम, पूर्व केन्द्रीय सदस्य बालकृष्ण बस्नेत, काठमाडौं शाखा अध्यक्ष गोविन्दप्रसाद चौलागाईं, पूर्वमिस नेपाल सुगारिका केसीसहितले शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा नेता नेपालले सूर्यनगर टोलमा उत्कृष्ट योगदान पुर्याउने समाजसेवी बालकृष्ण न्यौपाने र रामहरि श्रेष्ठलाई सम्मान समेत गरेका थिए ।

Post a Comment