Header Ads

‘लुटेरा’ सँगै राष्ट्रियता


कार्तिक २४, २०७२- भारतीय नाकाबन्दीले सुस्ताएको फिल्म क्षेत्रमा सोमबार ‘लुटेरा’ को कार्यक्रम भएको थियो, तिहारको पूर्वसन्ध्या पारेर । कात्तिक २५ लक्ष्मीपूजादेखि देशव्यापी प्रदर्शनमा आउन लागेको दयाराम दाहाल निर्देशित फिल्मको पत्रकार भेटघाटमा कलाकारहरू विषयान्तर भई बोले, कार्यक्रम जोसिलो बन्यो ।
‘लुटेरा’ को लिड रोलमा रहेका निखिल उप्रेतीले कार्यक्रममा पनि लिडरसिप देखाए । उनले हालको नाकाबन्दीलाई विषय प्रवेश गराउँदै भने, ‘हामी कतिसम्म अरूमा आश्रित रहेछौं भन्ने बल्ल थाहा पायौं ।’ उनले नाकाबन्दीका कारण उत्पन्न परिस्थितिमा कसैप्रति रोष व्यक्त गरेनन् । बरु भने, ‘यो बेला हामी सबै एकजुट होऔँ । अलिकति अलिनो नै खाऔँ तर आफ्नै खाऔँ ।’ उनले आत्मनिर्भर फिल्ममा पनि बन्न आग्रह गर्दै विदेशी फिल्म हेर्नुभन्दा ‘सिँगाने’ नै भए पनि आफ्नै फिल्मलाई आत्मसात् गर्न पनि दर्शकमा अनुरोध गरे ।

नेपालको फिल्म बजारमा विदेशी फिल्म खासगरी भारतीय फिल्मको वर्चश्व छ । जब कि नेपाली फिल्म भारतमा प्रदर्शनका लागि सेन्सर प्रक्रिया नै झन्झटिलो छ । तर हिन्दी फिल्म रिलिजकै दिनमा समेत सेन्सर पास भई रिलिज हुन पाएका धेरै उदाहरण छन् । ‘पहिले मलाई हिन्दीले नेपाली फिल्मको बजारमा असर गर्छजस्तो लाग्थेन र त्यही भन्थें,’ फिल्म वितरक तथा निर्माता प्रदीप उदयले भने, ‘अहिले मेरो धारणा परिवर्तन भएको छ । विदेशी फिल्मले नेपालीलाई असर गर्ने रहेछ । हिजोका दिनमा मैले असत्य कुरा गरेको रहेछु ।’ ‘लुटेरा’ को मोफसल वितरणको जिम्मा लिएको एफडी कम्पनीका प्रतिनिधिसमेत रहेका प्रदीपले थपे, ‘यति बेला ‘लुटेरा’ लाई पनि सोही मितिमा रिलिज हुन लागेको हिन्दी फिल्म (प्रेम रतन धन पायो) को ठूलो जोखिम छ । त्यसबाट पार पाउन सकोस् ।’ प्रदीपले आत्मालोचना गर्दै अब मौन बस्नुको अर्थ भूल हुने जिकिर पनि गरे ।

गोपाल कायस्थको निर्माण रहेको ‘लुटेरा’ मा निखिलसहित सविन श्रेष्ठ, निशा अधिकारी, हर्षिका श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ । फिल्मको सुटिङकै दौरान निशाले व्यक्तिगत कारण केश मुण्डन गरेपछि केही समय फिल्म युनिट तनावमा रह्यो । फिल्मको एउटा गीतमा निशालाई ठुटे कपालमै फिचरिङ गरिएको छ । निर्माता गोपालले पनि फिल्म सुरु भएदेखि ‘लफडैलफडा’ बेहोरेको भन्दै सोमबार नै सेन्सर पास भएपछि राहतको सास फेरेको बताए । 

निशाले छोटो कपालमा गीतमा देखिन आफूमा सुरुआतमा कन्फिडेन्ट नभएको खुलाउँदै भनिन्, ‘छोटो कपालमा कन्फिडेन्ट नै आएको थिएन । विग लगाएर सट दिँदै थिएँ, निखिल दाइले आएर नराखी खेल्दा बरु राम्रो हुने भन्नुभयो । पछि कोरियोग्राफर रामजी लामिछानेले पनि छोटै कपालमा सहमति जनाइदिनुभयो अनि निर्माता दाइले पनि । मलाई नाच्नै अड लागिरहेको थियो । तर अहिले त्यही राम्रो भएछ ।’

निशाले को–स्टार निखिललाई जुँगा र हेयर स्टाइलले झन् जवान देखाएको टिप्पणी गरिन् भने सविन आफूभन्दा राम्रो नाच्ने भन्दै फुर्काइन् ।

निखिलले भने निर्देशक दयारामलाई फुर्काए । ‘फिल्ममा मसलाको सम्मिश्रण कसरी गर्ने भन्ने बुझेको निर्देशक,’ निखिलले दयारामसँग पहिले पनि थुप्रै फिल्ममा काम गरेको स्मरण गर्दै भने । झन्डै दुई दशक निर्देशनमै बिताइसकेका दयारामले पनि यसबीच राम्रा/नराम्रा सबै खाले फिल्म दिएको स्विकार्दै भने, ‘फिल्म राम्रो बन्नुमा केवल निर्देशकको मात्रै हात नभई राम्रा कलाकार र राम्रा निर्माताको पनि उत्तिकै हात हुन्छ ।’ उनले ‘लुटेरा’ बाट आशावादी रहेको जनाए ।

२९ वर्ष लामो समय फिल्म वितरणमा बिताएपछि पहिलो पटक ‘लुटेरा’ मार्फत् निर्माणमा हात हालेका गोपालले पछिल्लो समय नेपाली फिल्मलाई दर्शकले नै थुक्न थालेपछि स्तरीय फिल्म बनाउन आफू कस्सिएको बताए ।

प्रकाशित: कार्तिक २४, २०७२



No comments

Powered by Blogger.