Header Ads

‘मेरो खेल र सफलतामा नेपालको कुनै सरकारी रकम खर्च भएको छैन ।’-मिरा राई

काठमाण्डौ – नेपालमा व्यावसायिक खेलको रूप लिई नसकेको अल्ट्रा म्याराथनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पटक–पटक सफलता हासिल गरेपछि मीरा राई चर्चामा छिन् । राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा ठूलो लगानी गरेका नेपाली फुटबल खेलाडीहरूबाट देशकै शिर झुक्ने गरी भएको अपराधको चर्चाबीच मीराको सफलता उल्लेख्य छ । किनभने उनको सफलतामा राष्ट्रको प्रत्यक्ष कुनै लगानी परेको छैन ।
भोको पेट, पानीको भरमा मिहिनेत गर्दै विश्वसामु नेपालको झण्डा फहराउन सफल मीरा जस्ता प्रतिभा पनि देशमा छन् भनेर उदाहरणका रूपमा अघि ल्याउने काम सरकारले नगरेको उनका प्रशंसक बताउँछन् । मीराले अल्ट्रा म्याराथनमा हासिल गरेको सफलताले अन्तर्राष्ट्रिय जोखिमपूर्ण खेलमा नेपाल र नेपालीको शिर उच्च बनाएकामा शुक्रबार उनलाई ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो । मीराको
सफलताको चर्चा मिडिया तथा सामाजिक सञ्जालमा आएपछि एन प्याब्सन सुनसरीले उनको कदर गर्दै
सम्मान गरेको हो ।
मीराले केहीअघि स्पेनमा भएको १ सय १० किलोमिटरको अल्ट्रा म्याराथन वल्र्ड च्याम्पियन
२०१५ मा १३ घण्टा ४३ मिनेटमा दूरी तय गर्दै दोस्रो
स्थान हासिल गरिन् । उक्त प्रतियोगितामा उनले
यसअघि तीन पटक वल्र्ड च्याम्पियन बन्दै आएकी स्पेनकी नुरया पिकसलाई ३० मिनेटले पछि पार्दै दोस्रो भएकी हुन् । प्रतियोगितामा नर्वेकी एमेली फ्रस पहिलो
भएकी थिइन् । यसअघि हङकङमा आयोजित ५० किलोमिटरको एसियन च्याम्पियन २०१५ मा ५ घण्टा ३९ मिनेटमा दूरी तय गरी पहिलो स्थान हासिल गरेकी थिइन् । यसैगरी फ्रान्समा भएको ८० किलोमिटर दूरीको मुभवलाईङक माउन्टेन म्याराथन १२ घण्टा ३२ मिनेटमा तय गर्दै प्रथम स्थान हासिल गरेकी थिइन् । नर्वेमा भएको ४५ किलोमिटर दूरीको म्याराथन ६ घण्टा २६ मिनेटमा तय गर्दै पहिलो भएकी थिइन् । यसअघि २०१४ मा इटालीमा भएको ५७ किलोमिटर र ८० किलोमिटरको अल्ट्रा म्याराथनमा च्याम्पियन भएकी थिइन् ।
सम्मानका क्रममा एन प्याब्सन सुनसरीका अध्यक्ष गणेश राईले भने, ‘मीराको संघर्षको कुरा सुन्दा अभाव र गरिबीसँग सामना गर्दै देशका लागि केही गर्छु भन्ने प्रतिभा पनि छन् भनी नेपालले गर्व गर्ने ठाउँ अझै छ भन्ने लाग्यो ।’ भोजपुर सानो दुम्मा गाविस–९ की मीरा निम्न आर्थिक अवस्थाका सुकबहादुर/पम्फारानी राईकी माइली छोरी हुन् । उनको दाजुबाहेक एक भाइ र दुई बहिनी छन् । गाउँकै पँधेरी निमाविमा कक्षा–७ की छात्रा उनी किशोरावस्थामै २०६४ मा एकाएक माओवादी लडाकु बन्न पुगिन् ।
‘शान्ति प्रक्रिया सुरु भइसकेकाले बन्दुक चलाउन जाने
पनि गोली हान्नुपरेन,’ उनले भनिन् । लडाकु शिविरमा लामो बसाइपछि उनलाई सेनामा समायोजन भएपछि सैनिक जागिरे भइन्छ, गरिब आमा, बुबाका लागि र भाइ, बहिनी पढाउन केही खर्च जुटाउन सकिन्छ भन्ने कल्पनामा दिन कटाउन थालिन् । यसैबीच शिविरको हरेक खेलकुदमा उनी अब्बल रहँदै आएकी थिइन् । दैनिक दौड र कराँतेको अभ्यास नियमित जारी हुन्थ्यो ।
समायोजनको छनोट सुरु हुँदा उनी अयोग्य लडाकुको
श्रेणीमा परिन् । उनी छाँगाबाट खसिन् । न नाप जाँच
न स्वास्थ्य परीक्षण, तीनवटा प्रश्न सोधेकै भरमा छनोट गरियो । भनिन्, ‘समायोजनमा पनि सोर्सफोर्स र पक्षपाती नीतिले काम गर्यो ।’ समायोजनको नाममा १० हजार रुपैयाँ थमाएर शिविरबाट धपाइएपछि भताभुंग भएको सपना लिएर घर
फर्कन उनलाई मन लागेन । अयोग्य लडाकु साथीहरूसँगै उनी सिन्धुलीतिर लागिन् । त्यहींबाट मीरालाई खेलको दिशामा अघि बढ्ने गोरेटो मिल्यो ।
सिन्धुलीबाट एसएलसी दिंदासम्म उनले गुरु ध्रुवविक्रम
मल्लको प्रशिक्षणमा कराँतेमा ब्राउन बेल्ट प्राप्त
गरिसकेकी थिइन् । प्रशिक्षक मल्लले काठमाडौंमा
तालिमको व्यवस्था मिलाइदिनुका साथै कराँतेमा
भन्दा म्याराथनमा लाग्न उत्प्रेरित गरेपछि उनले
पछाडि फर्केर हेर्नुपरेको छैन ।
मीरा भन्छिन्, ‘नेपालमा प्रतिस्पर्धा गर्दा सबैले डाइट
खाएर प्रशिक्षण गर्थे होलान्, मसँग त चना खाने पैसा पनि हुँदैनथ्यो ।’ खाली पेट पानी पिएर उनले नेपालमा भएका २ वटा अल्ट्रा म्याराथनमा पहिलो स्थान हासिल गरिन् । सन् २०१४ मा भएको ५० किलोमिटरको हिमालयन आउटडोर फेस्टिबल, १ सय ९७ किलोमिटरको मुस्ताङ ट्रायल रेस र अन्य खुला म्याराथनमा पनि उनी विजयी भइन् । उनको अल्ट्रा म्याराथनको क्षमता देखेर इटालीका अल्ट्रा धावक तथा प्रतियोगिता आयोजक टिटा टोगनीले युरोपमा हुने प्रतियोगिताका लागि स्पोन्सर गरेपछि उनको विदेश यात्रा सुरु भएको हो । उनलाई फ्रान्सको सोलमन फेमिली स्पोटर्सले यात्रालगायत अन्य सुविधाको प्रायोजन गदैआएको छ । ड्रागन एयरले पनि उनको यात्रा प्रायोजन गरेको उल्लेख गर्दै उनले थपिन्, ‘मेरो खेल र सफलतामा नेपालको कुनै सरकारी रकम खर्च भएको छैन ।’

No comments

Powered by Blogger.