Header Ads

मनिपाल शिक्षण अस्पतालमा तोडफोड, लापरवाहीले विरामी मरेको आरोप

कलेजोको अप्रेसन गरेर बाहिर निकालेको मान्छेको आँखामा पट्टि लगाउनु नै शंकास्पद हो।’ अप्रेसन गरेको अर्का दिन साँझसम्म पनि होस नखुलेपछि डाक्टरले मुटुमा समस्या छ भन्दै फेरि अप्रेसन गर्न लगेको जानकारी अनीलले दिए। पोखरा, १९ माघ ।

डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै एक बिरामीका आफन्तले पोखराको मणिपाल शिक्षण अस्पताल तोडफोड गरेका छन्। पोखरा–१६ बाटुलेचौरीकी सबिना जिसी तामाङको मृत्यु भएपछि आक्रोशित उनका आफन्तले सोमबार दिउँसो अस्पतालमा तोडफोड गरेका हुन्।
अस्पतालको मूलगेटमै ताला लगाएर तोडफोड हुन थालेपछिको तनाव नियन्त्रण गर्न डीएसपीको कमाण्डमा खटिएका प्रहरीले अस्पतालमा सुरक्षा दिएका छन्। मध्याह्न सबा १२ बजे लागेको गेटको ताला प्रहरीले त्यसको आधा घन्टापछि फोरेको थियो भने तोडफोडबाट अस्पतालका केही सिसा, टिभी र कुर्चीमा क्षति पुगेको डिएसपी केदार रजौरेले जानकारी दिए। कलेजोको अप्रेसन गर्ने भनेर बुधबार मणिपाल भर्ना भएकी सबिनालाई अस्पतालले शुक्रबार मृत घोषणा गरेको थियो। बिहीबार बिहान उनको अप्रेसन भएको हो।
‘९ बजे अप्रेसन थिएटरमा आफैं हिँडेर गएकी थिइन्’, उनका पति अनीलले भने, ‘अप्रेसन सफल भयो भनेर डाक्टरले भन्नुभयो, तर भोलिपल्टसम्म पनि उनको होश आएन।’ शुक्रबार आफन्तहरु कोही नभएका बेला अप्रेसन कक्षबाट पोस्ट अपरेटिभमा सारिएको उनले बताए । ‘बाहिर निकाल्दा आँखामा पट्टि लगाएको थियो, मुखमा पनि अक्सिजन दिएको थियो’ अनीलले भने, ‘कलेजोको अप्रेसन गरेर बाहिर निकालेको मान्छेको आँखामा पट्टि लगाउनु नै शंकास्पद हो।’ अप्रेसन गरेको अर्का दिन साँझसम्म पनि होस नखुलेपछि डाक्टरले मुटुमा समस्या छ भन्दै फेरि अप्रेसन गर्न लगेको जानकारी अनीलले दिए।
तर त्यसको केही समयपछि सबिनालाई डाक्टरले मृत घोषणा गरेका थिए। तर पति र सबिनाका आफन्तहरुले उनको मृत्यु पहिल्यै भएको दाबी गरेका छन्। ुबिहीबारै बितेको मान्छेलाई शुक्रबार फेरि अप्रेसन गर्न लगे अनिलले भने, ‘शनिबारै लास गन्हाएको थियो, शुक्रबार बितेको भए भोलिपल्टै त्यस्तो हुँदैनथ्यो, पहिल्यै बितेको हुनुपर्छ।’ कोखो दुख्यो भनेर भिडियो एक्सरे गर्दा कलेजोमा पानी देखिएपछि अप्रेसनका लागि मणिपाल अस्पताल लगेको अनीलले बताए।


बुधबार मणिपालमा लैजाने बित्तिकै अन्तिम चरणमा पुगिसकेको रहेछ भन्दै डाक्टरले अप्रेसन गरेको पनि उनले सुनाए।‘हामीले डाक्टरले भनेको कुरामा विश्वास ग्यौं’ तर बिरामी नै मारे,’ उनले आक्रोशित हुँदै भने,–‘लापरबाही नभएको भए के भएको हो भनेर किन प्रष्ट कुरा भन्दैनन् त।’ डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुले क्षतिपूर्ति माग गरेपछि अहिले जिल्ला प्रशासन कार्यालय कास्कीमा अस्पताल प्रशासन र आफन्तहरुबीच वार्ता भइरहेको छ। अस्पतालले यस घटनाबारे आधिकारीक भनाइ सार्वजनिक गरेको छैन। एक अधिकारीले पछि जानकारी दिने बताएका छन्। यसअघि पनि मणिपाल अस्पतालमा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै पटकपटक तोडफोडका घटना भएका छन्। डाक्टरहरुले भने कमजोरी नहुँदानहुँदै पनि तोडफोड भइरहेकाले आफूहरु असुरक्षित हुने गरेको बताउँदै आएका छन्। भारतीय लगानीको शिक्षण अस्पताल मणिपालमा दैनिक १ हजार बिरामी पुग्छन्।

No comments

Powered by Blogger.