Header Ads

एक महिनामा कालोबजारी गर्ने १२४ जना पक्राउ

मंसिर ११, २०७२- नेपाल प्रहरीले इन्धन अभावको समयमा बढी मूल्य लिई कालोबजारी गर्नेविरुद्ध कारबाही गर्ने क्रममा एक महिनामा १ सय २४ जनालाई इन्धनसहित पक्राउ गरेको छ । कालोबजारीविरुद्ध गत कात्तिक ९ गतेदेखि मंसिर ११ सम्म देशभरका १ सय ९ ठाउँमा गरेको कारबाहीमा उपत्यकाबाट ८६ र उपत्यकाबाहिरबाट ३८ गरी १ सय २४ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कारवाहीका क्रममा प्रहरीले उपत्यकाबाट ११ हजार ४ सय १३ लिटरसहित देशभरबाट जम्मा ३३ हजार ४ सय ९२ लिटर पेट्रोल, उपत्यकाबाट २४ हजार २ सय ९० लिटरसहित देशभरबाट जम्मा २७ हजार ८९३ लिटर डिजेल, उपत्यकाबाट एक हजार ३ सय ७५ लिटरसहित देशभरबाट जम्मा एक हजार ४ सय १५ लिटर मट्टितेल र उपत्यकाबाट ५८ थानसहित देशभर जम्मा ७९ थान सिलिन्डर ग्याससमेत बरामद गरेको छ ।
मंसिर ५ मा भक्तपुर नगरपालिका–७ आदर्श चोकस्थित भक्तपुर फ्युल सेन्टरको मिटरमा अनियमितता गरी ठगी गरेको अभियोगमा सञ्चालक पुन्यराम बखाड्यालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।  मंसिर ८ मा भक्तपुर ठिमी नगरपालिका–१५ गठ्ठाघरस्थित प्रवीण आयल स्टोरको पम्पमा जडान गरेको चिप्स बरामद गरी पम्पका प्रबन्धक मकवानपुरका भिमसेन केसीसमेतलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको जनाएको छ ।
विदेशी मुद्रा कारोबार गर्ने ४ चिनियाँ पक्राउ
प्रहरीले अबैध रुपमा विदेशी मुद्रा कारोवार गर्ने ४ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाडौको ठहिटीबाट पक्राउ गरेको हो ।

लामो समयदेखि लुकाई छिपाई नेपाली र विदेशी मुद्रा कारोवार गर्दै आएको गिरोहलाई पक्राउ गरेको व्युरोका एसपी दिवस लोहनीले जानकारी दिए । उनका अनुसार मा जाइजोन, वाई लो, उ पो र चुनकु लुलाई पक्राउ गरिएको छ । अभियुक्तको साथबाट १७ हजार ३ सय ५३ चाइनिज युआन,  ४७०  संयुक्त अरब इमिरेट्सको डिनार  र ६२ अमेरिकन डलर वरामद गरेको उनले बताए ।
थप अनुसन्धानको लागि उनीहरुलाई सम्पति शुद्धिकरण अनुसन्धानमा विभागमा बुझाइएको छ ।
प्रकाशित: मंसिर ११, २०७२



No comments

Powered by Blogger.