Header Ads

सकसमा ठूला दलका मधेसी नेता

मंसिर ४, २०७२- मधेसमा आन्दोलन भएको ३ महिना बढी भइसक्यो । मानव साङ्लो वा विभिन्न जातीय संगठनका नाममा भएका प्रदर्शनमा प्रमुख ३ दल कांग्रेस, एमाले र एमाओवादीका समर्थक साथै कार्यकर्ताले आन्दोलनमा आफ्नो सहभागिता जनाएका छन् । ठूला दलका विभिन्न भातृ तथा पेसागत संघ/संगठनका व्यक्तिले पनि आन्दोलनमा कुनै न कुनै रुपमा आफ्नो उपस्थिति जनाएका छन् ।
कार्यकर्ताको सहभागितामा आँखा चिम्लिदै आएका जिल्लास्तरका नेतालाई भने लम्बिदो आन्दोलन र त्यसमा भइरहेको जनसहभागिताले दवाब थेग्न समस्या परिरहेको छ । कार्यकर्ताहरुको सहभागिता भए पनि जिल्ला नेताहरु मधेस आन्दोलनको समर्थन वा विपक्षमा निस्किएका छैनन् । ३ महिना यता आफूहरुको राजनीति निष्क्रिय जस्तो भएको एमालेका एकजना जिल्ला स्तरीय मधेसी नेताले सुनाए । कांग्रेसका एकजना सक्रिय जिल्ला नेता भन्छन् 'हामी मधेसमा कति समस्या झेलेर बसेका छौं भन्ने केन्द्रमा नेताले बुझ्दैनन् ।'
मधेस आन्दोलन र त्यसको मागबारे केन्द्रीय नेताहरुलाई कुरा गर्दा र बुझाउन खोज्दा उनीहरुले शंकाको नजरले हेर्न थालेको उनको गुनासो छ । 'केही नेताहरु मात्र उदार छाति बनाएर हाम्रो कुरा सुन्छन्,' काठमाडौंमा धेरै नेतालाई भेटेका उनले भने । मधेस आन्दोलनको सम्बोधनमा भइरहेको ढिलाईले सिंगो मुलुकलाई समस्या परेको भन्दै सर्लाही कांग्रेसका सभापति लक्ष्मण राय आफूहरु मधेसकै बासिन्दा र सक्रिय राजनीतिक कार्यकर्ता भएकाले समस्या महशुस हुनु स्वभाविक भएको बताउँछन् । उनले कांग्रेसले समस्या समाधानका लागि गरेको संविधान संशोधनको पहललाई सार्थकता दिन ढिलाई भइरहेकोमा चिन्ता व्यक्त गरे । 'अब धेरै भइसक्यो, ढिला नगरौं, मधेसलाई बेलैमा सम्बोधन गर्नुपर्छ,' उनले भने ।
एक साता अघि मात्र कांगेस क्षेत्र नं. ४ का अध्यक्ष दिनेश मिश्रका भाइलाई कांग्रेस भनेरै कुटपिट भयो । भौतिक रुपमा समेत जिल्लाका मधेसी नेताहरु असुरक्षित महशुस गर्न थालेका छन् । बजारमा निस्किदा मोर्चाका कार्यकर्ताबाट मात्र होइन आम व्यक्तिबाट ओइरिने अनेकथरी प्रश्नबाट घेरिने गरेका छन् उनीहरु ।
आन्दोलनमा नगई पार्टीमा बस्ने ती नेता आफू एक्लो र असुरक्षित महसुस गर्छन् । आन्दोलन बढ्न थालेपछि कांग्रेस जिल्ला सभापति राय अधिकांश समय काठमाडौं बसे । कांग्रेसका केही नेता त मधेस आन्दोलनको समर्थनमा झण्डा लिएरै जुलुसमा निस्के । जिल्ला समितिका र महासमिति सदस्य पनि आन्दोलनको समर्थनमा जुलुसमा सहभागी भएका थिए । एमाले र एमाओवादीका जिल्ला नेता पनि समस्या झेल्दै छन् ।
 
एमाले नेता माधवकुमार नेपाल गत आइतबार छठको शुभकामना कार्यक्रमका लागि सर्लाहीको हरिपुर आउने कार्यक्रम तय भएको थियो । उनी आउँदा मुठभेड हुने सम्भावना देख्दा-देख्दै पनि पार्टीका मधेसी नेताले पार्टी भित्र विरोध गर्न सकेनन् । कारण थियो, कार्यक्रम नगर्न सुझाब दिँदा नेताले शंकाको नजरले हेर्छन् कि भन्ने डर । मधेसी मोर्चाले सक्रिय बिरोध गर्ने जनाएपछि नेपालको कार्यक्रम स्थगित हँंुदा पार्टी भित्रका मधेसी नेताहरुले पनि राहत अनुभव गरेको ती नेताले सुनाए । मधेसको पक्षमा बोल्दा पार्टीले शंकाको घेरामा राख्ने संभावनाले उनीहरुलाई कठिनाई छ । पार्टीमा कटिबद्ध छु भनेर प्रमाणित गर्नै समस्या पर्न थालेको छ ।


एमालेका पूर्वजिल्ला उपाध्यक्ष एवं क्षेत्र ४ मा मधेसी मोर्चाका नेता राजेन्द्र महतो र महेन्द्र राय यादवविरुद्ध सभासद उठेर पराजित राजनारायण साह पनि मलंगवामा संकट ब्यहोर्दै छन् । उनी मोर्चाले अघि सारेका मागबारे तीन ठूला दल र सरकारले स्पष्ट पार्न ढिलाई गर्न नहुने वताउँछन् । 'दैनिक गाली सुनेर मधेसमा बस्नै कठिन भइसक्यो,' उनले भने, 'आन्दोलन टुंग्याउनेतर्फ सबै दल अग्रसर हुनुपर्छ । लामो आन्दोलनले कुनै पनि पार्टी र देशलाई फाइदा पुग्दैन । जनताको पीडालाई छिटो सम्बोधन गर्नु पर्छ ।'

संविधान बनाउने मुख्य तीन दलका जिल्ला नेतालाई मधेसी आन्दोलनकारीले मधेस विरोधीका रुपमा चित्रित गर्ने गरेका छन् । यस्तोमा यी दलका कार्यकर्ताहरुलाई आन्दोलननिरपेक्ष रहन कठिन हुँदै गएको छ । एमालेका एक नेता मधेसी नेता कार्यकर्ता अहिलेसम्म पार्टीमा अडिग रहनुलाई ठूलो साहस मान्नु पर्ने बताउँछन् । उनले भने, 'पार्टीले सुरक्षा दिन सक्ने अवस्था छैन । यस्तो बेला कार्यकर्ताको कुरा नेतृत्वले सुनिदिनु पर्छ । यथार्थ कुराभन्दा शंका गर्ने परिपाटी त्याग्नुपर्छ ।'
संविधानमा मतदान गरेको भन्दै मलंगवामा एमालेकी सभासद कमलादेवी महतोको घरमा आगजनी भयो । त्यही दिन साहको घरमा पनि आगजनी गर्न एक समुह पुगेको थियो । नेता मात्र नभई घरका सबै सदस्यसमेत असुरक्षित महसुस गर्छन् । एमाओवादी जिल्ला अध्यक्ष कमल बुढाथोकीले मधेसी नेता कार्यकर्ता संकटको अबस्थामा रहेको स्वीकारे । 'मधेस आन्दोलनका कारण मधेसी नेता कार्यकर्ता केही असहज अबस्थामा हुनुहुन्छ,' उनले भने, 'त्यसलाई निराकरण गर्नुपर्छ । अन्य पार्टीका नेता कार्यकर्तालाई मधेसमा कठिनाई सृजना गर्ने काम भएको छ ।'
मधेस आन्दोलन चर्किएपछि विभिन्न पार्टीमा रहेका मधेसी मूलका सभासदहरु दसैं, तिहार र छठ मान्न पनि जिल्ला आउन सकेका छैनन् ।
एमालेकी सभासद रञ्जना सरकार र कांग्रेस सभासद रामचन्द्र चौधरी तिहारका बेला आफ्नो घर हरिपुर आएको सूचना पाएका मोर्चा कार्यकर्ताहरु उनको घर घेर पुग्न पुगेका थिए । संविधानमा हस्ताक्षर गरेका सभासदहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको मोर्चामा आवद्ध संघीय समाजवादी फोरमका सर्लाही जिल्ला अध्यक्ष अशोक यादवले बताए ।

प्रकाशित: मंसिर ४, २०७२




No comments

Powered by Blogger.