Header Ads

आफ्नै श्रीमती को हत्या गर्ने मनकुमार पक्राउ

खोटाङ, जेठ २४ – आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा खोटाङमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुभिण्डे–३ का २७ वर्षीय मनकुमार श्रेष्ठ रहेका छन् । मनकुमारकी श्रीमती २६ वर्षीया लीला राई (श्रेष्ठ) जेठ २० गते बिहान घर नजिकै केराघारीमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन् ।उनको हत्या स्वयम् आफ्नै श्रीमानले गरेको भन्ने माइतीपक्षबाट किटानी जाहेरी आएपछि श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक यादव गौतमले बताए ।
पक्राउ परेका श्रेष्ठलाई आइतबार जिल्ला अदालत खोटाङ लगेर चार दिनको म्याद थप गरी कारबाही थालिएको प्रहरीले जनाएको छ । उनले श्रीमतीलाई जेठ १९ गते राति सामान्य कुटपिट गरेको स्वीकारेको प्रहरीको भनाइ छ ।
मृत फेला परेकी महिलाको ढाड र पाखुरामा निलडाम भेटिएको घटनास्थल पुगेको प्रहरीले जनाएको छ । उनको हत्या भए नभएको बारे अस्पतालबाट शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको गौतमको भनाइ छ ।
उनीहरुबीच चार वर्षअघि प्रेम विवाह भएको स्थानीयले जनाएका छन् । स्थानीयले दिएको जानकारी अनुसार उनीहरुका दुई भाइ छोरा छन् ।

No comments

Powered by Blogger.