Header Ads

लिंग नबढ्नुको कारण के होला ?

म २० वर्षको भएँ । मेरो विवाह पनि भैसक्यो तर मेरो लिंगको साइज धेरै सानो छ । त्यसैले यौनसम्पर्क गर्दा मज्जा पनि आउँदैन । के उमेर बढ्दै जाँदा मेरो लिंगको साइज पनि बढ्छ ? कि बढ्दैन ? लिंग नबढ्नुको कारण के होला ?
तपाईंले आफ्नो लिंगको साइज धेरै सानो भएको कुरा गर्नुभयो तर नापका बारेमा केही नभन्नु भएकाले यसै भन्न सकिने स्थिति भएन । सामान्य रूपमा लिंगको लम्बाइ कति हुन्छ भन्ने कुरा गरौं । लिंग एक विशेष अङ्ग हो र यसको सांकेतिक महत्त्व बढी छ । सन्तान उत्पादन गर्ने अंग भएर पनि यस्तो भएको हुन सक्छ । कतिपय व्यक्ति यसको आकार वा लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’सँग जोडिएको मान्छन्, त्यसैले उनीहरूमा आफ्नो लिंगप्रति निकै चासो र चिन्ता हुन्छ । यस्तोमा कतिपय व्यक्तिले लिंगको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर पीर (चिन्ता) गर्छन् । थाहा भएको कुरा हो, लिंगको लम्बाइ तथा मोटाइ व्यक्ति–व्यक्तिअनुसार एकदमै फरक–फरक हुन सक्छ । कसैको लामो हुन सक्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो हुन सक्छ भने कसैको पातलो । सालाखालाको कुरा गर्दा यस्तै ८८ प्रतिशत पुरुषको लिंग उत्तेजित हुँदा ५–७ इन्चको बीचमा हुने देखिएको छ भने उत्तेजित नहुँदा ३–५ इन्च बीचमा हुने देखिएको छ ।
अहिले देशअनुसार लिंगको नापसम्बन्धी अध्ययनहरूका नतिजा पनि सार्वजनिक भएका छन् । अध्ययनअनुसार केही विविधता भए पनि कङ्गोको (७ दशमलव १ इन्च), इक्वेडोरको (६ दशमलव ९ इन्च), हल्यान्डको (६ दशमलव २ इन्च), फ्रान्सको (५ दशमलव ७ इन्च), बेलायतको (५ दशमलव ५ इन्च), संयुक्त राज्य अमेरिकाको (५ दशमलव १ इन्च), पाकिस्तानको (४ दशमलव ८ इन्च), दक्षिण कोरियाको (४ दशमलव ४ इन्च), जापानको (४ दशमलव ३ इन्च), थाइल्यान्डको (४ इन्च), भारतको (४ इन्च), उत्तरी कोरियाको (३ दशमलव ८ इन्च) सालाखाला लिंगको लम्बाइ मानिएको छ । नेपालको सन्दर्भमा लिंगको नापको तथ्याङ्क उपलब्ध नभएका कारण यसै भन्न सकिँदैन, यद्यपि हाम्रो वरिपरिका देशका बासिन्दासँग वंशाणु वा जातीय तथा अन्य कतिपय कुरा मिल्ने भएकाले तुलना गर्नु मनासिव नै होला ।
नापको निर्धारण कसरी हुन्छ ?
यसको जवाफ त्यति सजिलो भने छैन, किनभने यसमा धेरै कुराले प्रभाव पारेको हुन्छ । छोटकरीमा भन्नुपर्दा वंशाणुले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सम्भवत: सबैभन्दा बढी प्रभाव पुरुष हार्मोनको हुन्छ । धूमपानले भने यसको नाप कम गराउने प्रभाव राख्छ । सामान्यत: किशोरावस्थासम्म तीव्र गतिमा बढ्ने लिंग लामो समयसम्म किशोरावस्थापछि त्यही नापमा रहन्छ । अहिले लिंग बढाउने उपायजस्तो तन्काउनेदेखि शल्य क्रियासम्म उपलब्ध छ । उपाय हेरी यसका प्रभावकारिता वा अन्य असरहरू आ–आफ्नै किसिमका हुन्छन् । उमेर बढ्दै गए पछि अर्थात अधबैंसे भएपछि बिस्तारै लिंगको नापमा केही कमी आउँछ ।
उमेरअनुसार विकास
केटाको यौनांग विकासलाई निम्न चरणमा विभाजन गरिएको छ ।
१. Tanner Stage 1 (Pre-prepubertal) :  अन्डकोषको लम्बाइ २ दशमलव ५ सेन्टिमिटरभन्दा कम, यौनकेश आउन बाँकी तथा लिंगको वृद्धि नभएको ।
२. Tanner Stage 2 : अन्डकोषको लम्बाइ २ दशमलव ५ देखि ३ दशमलव २ सेन्टिमिटर, लिंगको फेदमा हल्का रूपमा यौनकेश (मोटो, गाढा रङ्गको केश) आउने, लिंगको वृद्धिको शुरुवात हुने ।
३. Tanner Stage 3 : अन्डकोषको लम्बाइमा वृद्धि भएर ३ दशमलव ६ सेन्टिमिटरको हुने अनि जधनास्थी क्षेत्र त्यसमा पनि यौनकेश (मोटो, गाढा रङ्गको केश) फैलने, लिंगको लम्बाइ तथा मोटाइ बढ्ने । कतिपयको स्तनमा पनि केही वृद्धि देखिन सक्छ ।
४. Tanner Stage 4 : अन्डकोषको लम्बाइमा वृद्धि भएर ४ दशमलव १ देखि ४ दशमलव ५ सेन्टिमिटरको हुने, जधनास्थी क्षेत्रमा हुने यौनकेश (मोटो, गाढा रङ्गको केश) वयस्क पुरुषको जस्तो हुने । लिंगको लम्बाइ तथा मोटाइ निरन्तर रूपमा बढ्ने ।
 ५. Tanner Stage 5 : अन्डकोषको लम्बाइमा वृद्धि भएर ४ दशमलव ५ सेन्टिमिटरभन्दा बढीको हुने, जधनास्थी क्षेत्रमा हुने यौनकेश (मोटो, गाढा रंगको केश) वयस्क पुरुषको जस्तो नै हुने र तीघ्राको भित्रतिर फैलिने । लिंगको लम्बाइ तथा मोटाइ वयस्क नापमा पुग्ने । यदि स्तनमा वृद्धि भए त्यो हराएर जाने ।

किशोरावस्थामा लिंगको लम्बाइ

उमेर (वर्षमा)लम्बाई (सेन्टिमिटरमा)
१०–११४ देखि ८
१२५ देखि १०
१३५ देखि १२
१४६ देखि १४
१५८ देखि १५
१६१० देखि १५
१७१० देखि १६
१८११ देखि १७
मज्जा आउने–नआउने कुरा
तपाईंले किन लिंगको थप विकास गर्न चाहनुभएको, थाहा भएन । यो पक्कै हो कि दुई व्यक्ति यौनसम्पर्कमा संलग्न हुन्छन् र धेरैजसोको मनमा आफ्नो यौनसाथीलाई पर्याप्त यौन सुख दिन नसकिएला कि भन्ने हुन्छ । कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुरा उसको शारीरिक पक्षका साथै मानसिक पक्षसँग अन्तरंग सम्बन्ध राख्छ । यौनसुख प्राप्त गर्न उक्त व्यक्ति मानसिक रूपमै तयार हुनु जरुरी छ । उत्तेजनाका सन्देश उसले शारीरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो । यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख वा मज्जा पाउने–नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सकिँदैन, सहयोग गर्न मात्र सकिने हो । उदाहरणका लागि तपाईंले कुनै व्यक्तिलाई सुन्दर ध्वनि वा सुमधुर संगीत सुनाउन सक्नुहुन्छ तर त्यसबाट आउने मज्जा त उक्त व्यक्ति आफैंले लिनुपर्ने हुन्छ ।
अर्को कुरा महिलाको सबैभन्दा बढी यौन संवेदनशील अंग भगांकुर बाहिरतिरै हुन्छ । महिला तल र पुरुष माथि भएर गरिने यौनसम्पर्कमा सामान्यत: लिंगले भगांकुरलाई घर्षण गर्दैन, त्यसैले लिंगको लम्बाइ वा मोटाइ बढाएर बढी मज्जा लिन सकिने कुरा भएन । फेरि महिलाको योनिको बाहिरी (योनिद्वारनिरको) भाग नै यौन संवेदनशील हुन्छ न कि भित्री भाग, त्यसमा छोटो नै लिंगले पनि घर्षण गर्न भ्याउँछ ।

No comments

Powered by Blogger.