Header Ads

म्याचफिक्सिङ प्रकरण: खेलाडीको बयान सकियो

कार्तिक २३, २०७२- विशेष अदालतले राज्य विरुद्धको अपराध खेपिरहेका पाँच खेलाडीसँग सोमबार बयान लिने काम सकेको छ । अदालतका अनुसार थुनछेकका लागि बहस मंगलबारबाट सुरु हुनेछ । बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश मोहनरमण भट्टराई तथा सदस्यहरू भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीको इजलासले खेलाडीहरूलाई थुनामै राखेर, धरौटी लिएर वा सामान्य तारेखमा छाडेर मुद्दा अगाडि बढाउने भन्नेबारे तय गर्नेछ ।
म्याच फिक्सिङ गरेको अभियोगमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा तथा खेलाडीहरू सन्दीप राई, अन्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्रीविरुद्ध आइतबार मुद्दा दर्ता भएको थियो । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मिलेमतो गरेर खेलेको संकेत देखिएपछि महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरूविरुद्ध गरेको अनुसन्धानले पाँचै जना म्याच फिक्सिङमा सहभागी भएको देखिएको थियो ।
सन् २००८ देखि भएका २२ अन्तर्राष्ट्रिय खेलमा उनीहरूले म्याच फिक्सिङ गरेको देखिएको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । हारेबापत प्रति खेलाडीले प्रतिखेल ५ हजार अमेरिकी डलरसम्म लिएको प्रमाण प्रहरीले फेला पारेको छ । हरेक खेलमा नेपालले हार्ने गरेको र उनीहरूको गतिविधि शंकास्पद देखिएपछि एसियाली फुटबल महासंघले अनुसन्धानका लागि नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । त्यसैअनुसार प्रहरीले गहिरो खोजबिन गरी दोषीहरूविरुद्ध प्रमाण फेला पारेको एसएसपी खनालले बताए । सिंगापुरका कुख्यात म्याच फिक्सर टिटानी पेरिआसमी र केसभान पट्टान लगायतसँग मिलेर पैसा लिने गरेको र त्यसबापत उनीहरूले भनेजति गोल खाइदिने गरेको भेटिएको प्रहरी अनुसन्धानमा खुलेको छ । टिटानी र केसभानविरुद्ध मालदोभा प्रहरीले म्याच फिक्सिङ अभियोगमा मुद्दा समेत चलाइसकेको छ ।
सन् २००८ मा भएको मर्डोका कप, २००९ को साफ च्याम्पियनसिप, सन् २०११ मा मलेसियामा र फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल, २०१२ मा भारतमा भएको नेहरू कप, २०१४ मा कोरियामा भएको खेल लगायतमा म्याच फिक्सिङ गरेको अनुसन्धानले देखाएको छ । म्याच फिक्सिङको अभियोगमा खेलाडीमाथि यसरी मुद्दा चलेको नेपालको न्यायिक इतिहासमा यो नै पहिलो घटना हो ।


No comments

Powered by Blogger.