Header Ads

हिन्दू राष्ट्र माग्दै पोखरामा शक्ति ज्वाला प्रदर्शन

डन न्यूज संवाददाता
पोखरा, २९ साउन ।
नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गरिनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलित हिन्दू राष्ट्र संरक्षण अभियानले पोखरामा शुक्रबार विशाल शक्ति ज्वाला प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी उमेर ढल्केका बृद्धबृद्धाहरुको पनि सहभागिताले नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गराउन थप दबाब मिलेको छ ।
पोखराको सभागृहचोकदेखि सुरु शक्तिज्वाला प्रदर्शन न्यूरोड हुँदै चिप्लेढुंगा पुगेको थियो । हातहातमा शक्तिको प्रतीकस्वरुप ज्वाला लिएका सयौं प्रदर्शनकारीहरुले विभिन्न नाराबाजीका लागि नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्ने माग गरेका थिए ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अभियान अध्यक्ष डा. लेखनाथ आचार्यले गाउँ गाउँ र कुनाकुनाबाट उर्लिएको जमात्ले नेपाललाई जसरी पनि सनातन हिन्दू राष्ट्र कायम गराउन दबाव दिने बताए ।
युवापण्डित कमलनयन गौतमले नेपाललाई हिन्दू राष्ट्र नभइञ्जेल आन्दोलन यसरी नै अघि बढ्ने बताए । घोषित दोस्रोचरणको तीनदिने आन्दोलनको अन्तिम दिन साउन ३१ गते गण्डकी–धौलागिरी अञ्चलका सम्पूर्ण जिल्ला बन्द आह्वान गरिएको छ । त्यसको अघिल्लो दिन साउन ३० गते पृथ्वीचोकदेखि चिप्लेढुंगासम्म शंखघण्ट, डमरु र त्रिशूल जुलुस गरिने कार्यक्रम छ ।
पृथ्वीचोकदेखि सुरु हुने सो जुलुस सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगा चौतारोमा पुगेर विशाल सभामा परिणत हुने अभियान सचिव धनपति शर्माले बताए ।
नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गरिनुपर्ने संरक्षण अभियानको मागलाई पछिल्लो समय विभिन्न समुदाय पनि साथ दिएका छन् ।
अब बन्ने संविधानमा नेपाललाई वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र हुनुपर्छ भनी हिन्दु राष्ट्र संराण अभियान कास्कीले उठाएका मागमा क्षेत्री समाज कास्की, ब्राह्मण समाज कास्की, विश्वकर्मा समाज नेपाल, दशनामी समाज नेपाल, विश्व हिन्दू महासंघ, परोकार महासंघ नेपाल, हिन्दू जागरण नेपाल, ज्योतिष कर्मकाण्ड महासंघ, विन्ध्यबासिनी मन्दिर क्षेत्र विकास समिति, नारायणस्थान मन्दिर व्यवस्थापन समिति, केदारेश्वर महादेवमणि सेवाश्रम समिति, हिन्दू जागरण विद्यार्थी परिषद र प्राज्ञिक विद्यार्थी परिषद्ले ऐक्यवद्धता जनाएका छन् ।

No comments

Powered by Blogger.