प्रधानमन्त्रीसहित ३ दलका शीर्ष नेता वार्तामा बस्नुपर्छ: भट्टराई
कार्तिक २१, २०७२- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेस समस्या समाधानका लागि प्रधानमन्त्रीसहित ३ दलका शीर्ष नेता स्वयम् वार्तामा बस्नुपर्ने बताएका छन् । शनिबार जनकपुरको गोपाल धर्मशालामा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै भट्टराईले ८५ दिन लामो मधेस आन्दोलनलाई केपी ओली नेतृत्वको सरकारले बेवास्ता गरेको आरोप पनि लगाए ।
नयाँ शक्ति निर्माण अभियान, धनुषाले 'मधेस आन्दोलन तथा अभियान' विषयमा शनिबार गरेको अन्तरक्रियामा भट्टराईले भने, 'मधेसी मोर्चासँगको वार्तालाई सरकारी पक्षले नाटक बनाएको छ । जुहारी खेल्नुभन्दा मधेस समस्या समाधानलाई प्राथमिकता दिनुपर्दछ ।'
मधेसका माग संविधान संशोधनमार्फत मात्र सम्बोधन गर्न सकिने उनको भनाइ छ । भारतले सीमा नाकामा अवरोध गरेको भनी सरकार र केही पत्रपत्रिकाले हल्लाखल्ला मच्चाएको उल्लेख गर्दै भट्टराईले भने, 'आन्दोलनका क्रममा म पटकपटक मधेस आएको छु । भारतीय नाकामा मधेसी जनताले अवरोध गरेका हुन्,' उनले भने, 'मधेसी जनताको माग पूरा गरौं, त्यसपछि पनि सीमानाका खुला भएन भने भारतले नाकाबन्दी गरेको ठहर्छ ।'
कालो झन्डासहित प्रदर्शन
मधेस आन्दोलनको ८५ औं दिन स्थानीय युवा तथा संघसंस्थाले कालो झन्डासहित विरोध प्रदर्शन गरेका छन् । जुलुुसमा आन्दोलनरत दलका नेता तथा कार्यकर्तासमेत सहभागी थिए । जुलुसमा संयुक्त युवा संघर्ष समिति, मधेस अधिकार संघर्ष समिति, मधेसी नागरिक समाज, मधेस क्रान्ति युवा समाज, स्टेसन एरिया युवा समाजसहित नगरका युवा संघ संगठनका अगुवा, महिला संघ संगठन प्रतिनिधि एवं सर्वसाधारणको पनि सहभागिता थियो ।
प्रकाशित: कार्तिक २१, २०७२

Post a Comment